
काठमाडौं। भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा जारी खोज तथा उद्धार अभियानमा खटिएका हेलिकप्टरलाई नुवाकोटबाटै हवाई इन्धन उपलब्ध गराइएको छ।
नेपाल आयल निगमका अनुसार उद्धार कार्यका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म १ लाख २० हजार लिटर हवाई इन्धन रिफ्युलिङ गरिएको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले हेलिकप्टरको सहज सञ्चालनका लागि नुवाकोटबाटै इन्धन उपलब्ध गराइएको निगमले जनाएको छ।
बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभिर खण्डसमेत अवरुद्ध भएपछि निगमले वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिसमेत निरन्तर राखेको छ।
भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किएपछि इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट रोकिएका थिए। त्यसपछि त्रिभुवन राजपथ (बाइरोड) हुँदै तराईका उद्योगबाट ग्यास सिलिन्डर काठमाडौं उपत्यका ल्याउने व्यवस्था गरिएको हो।
निगमका अनुसार भदौ १८ गते करिब २४ हजार ५०० र भदौ १९ गते करिब ३४ हजार १३४ ओटा ग्यास सिलिन्डर काठमाडौं उपत्यका भित्र्याइएको थियो।
त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका अस्थायी सेल्टरका लागि ५७५ ओटा एलपी ग्यास सिलिन्डर समेत पठाइएको निगमले जनाएको छ।
