Nepal Purbadhar

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बढ्दै, चार संस्थाले दिए २ करोड २१ लाखभन्दा बढी


काठमाडौं। भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम दाखिला गर्ने क्रम बढ्दै गएको छ।

पछिल्लो पटक गुल्मीका १० स्थानीय तह, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट ग्रुप तथा भक्तपुरका दुई विद्यालयले गरी २ करोड २१ लाख ५० हजार ७५१ रुपैयाँ सहयोग गर्ने तथा दाखिला गरिसकेका छन्।

गुल्मीका १० स्थानीय तहबाट १ करोड ४७ लाख

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि गुल्मीका १० स्थानीय तहले १ करोड ४७ लाख ४३ हजार ४३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।

बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै स्थानीय तहले आफ्ना कोष तथा जनप्रतिनिधि, कर्मचारी र शिक्षकको पारिश्रमिकबाट रकम जुटाएर सहयोग गर्ने निर्णय गरेका हुन्।

स्थानीय तह सहयोग रकम
सत्यवती गाउँपालिका रु. ३० लाख ६८ हजार ३९१
इस्मा गाउँपालिका रु. २१ लाख १ हजार ६९६
रुरु क्षेत्र गाउँपालिका रु. २६ लाख ७५ हजार
कालीगण्डकी गाउँपालिका रु. १९ लाख ५५ हजार १५६
चन्द्रकोट गाउँपालिका रु. १४ लाख
धुर्कोट गाउँपालिका रु. १३ लाख ३७ हजार
रेसुङ्गा नगरपालिका रु. १० लाख
गुल्मी दरबार गाउँपालिका रु. ५ लाख
मदाने गाउँपालिका रु. ४ लाख ५ हजार ८००
मालिका गाउँपालिका रु. ३ लाख
जम्मा रु. १ करोड ४७ लाख ४३ हजार ४३
बीपी प्रतिष्ठानबाट ३७ लाख २ हजार

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३७ लाख २ हजार रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि सहयोग गरेको छ।

प्रतिष्ठानका पदाधिकारी, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा पूर्वकर्मचारीले एक दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सन सहयोगस्वरूप रकम उपलब्ध गराएको प्रतिष्ठानले जनाएको छ।

विराट ग्रुपबाट ७२ लाख

विराटनगरस्थित विराट ग्रुपले ७२ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेको छ।

भोटेकोशीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले रकम दाखिला गरिएको विराट ग्रुपले जनाएको छ।

ग्रुपमा कार्यरत कर्मचारीको तर्फबाट एक दिनको तलब संकलन गरी उक्त रकम जुटाइएको हो।

भक्तपुरका दुई विद्यालयबाट ९ लाख ५ हजार

भक्तपुरका एभरेस्ट इङ्लिस स्कुल र एभरेस्ट भक्तपुर स्कुलले ९ लाख ५ हजार ३०४ रुपैयाँ राहतस्वरूप संकलन गरेका छन्।

एभरेस्ट इङ्लिस स्कुलले ६ लाख २३ हजार ४४ रुपैयाँ र एभरेस्ट भक्तपुर स्कुलले २ लाख ८२ हजार २६० रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका हुन्।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पछिल्लो समय स्थानीय तह, सरकारी संस्था, निजी क्षेत्र, विद्यालय तथा विभिन्न संघसंस्थाबाट सहयोग जुट्ने क्रम बढ्दै गएको छ।


Read Previous

त्रिशूली-३ ‘ए’ आयोजनाको सुरुङबाट एउटा शव निकालियो

Read Next

लाङटाङ भोटेकोशी जलविद्युत् आयोजना अपडेट: फर्कियो उद्धार टोली, ‘सुरुङमा केही भेटिएन’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar