
default
काठमाडौं। रसुवा, नुवाकोट र धादिङमा आएको बाढीपछि २१७ विद्यार्थी र १५ शिक्षक अझै सम्पर्कमा आउन नसकेको शिक्षा विभागले जनाएको छ।
शिक्षा विभागका निर्देशक निलकण्ठ ढकालका अनुसार प्रारम्भिक तथ्यांकमा बाढी प्रभावित क्षेत्रका २१७ विद्यार्थी र १५ शिक्षक सम्पर्कविहीन छन्। उनीहरू रसुवा, नुवाकोट र धादिङका विभिन्न शैक्षिक संस्थासँग सम्बन्धित छन्।
बाढीका कारण तीन जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका भवनसहित अन्य भौतिक संरचनामा पूर्ण तथा आंशिक क्षति पुगेको विभागले जनाएको छ। क्षतिको विस्तृत जिल्लागत विवरण संकलन तथा अद्यावधिक भइरहेको छ।
मन्त्रालयले यकिन तथ्यांकका आधारमा प्रभावित विद्यार्थी तथा शिक्षकका लागि राहत, पुनःस्थापना र विद्यालय पुनर्निर्माणका कार्यक्रम अघि बढाउने जनाएको छ।
आवासीय सुविधासहित ‘ठूला विद्यालय’ बनाउने तयारी
शिक्षा तथा खेलकुद मन्त्रालयले बाढी प्रभावित विद्यालयको पुनर्निर्माणमा ‘ठूला विद्यालय’को अवधारणा अघि बढाउने तयारी गरेको छ।
बाढीबाट शिक्षा क्षेत्रमा परेको प्रभाव, विपद्पछिको पुनःस्थापना तथा आगामी प्राथमिकताका विषयमा मन्त्रालयले नेपाल शिक्षा समूहका प्रतिनिधिसँग छलफल गरेको छ।
छलफलमा मन्त्री सस्मित पोखरेलले बाढी प्रभावित क्षेत्रमा विद्यालय पुनर्निर्माण गर्दा आवासीय सुविधा र विद्यालय बस सुविधासहितका ठूला विद्यालयको अवधारणाअनुसार अघि बढ्नु उपयुक्त हुनसक्ने बताए।
उनका अनुसार विपद्का कारण विद्यालयका संरचना प्रभावित भएको अवस्थामा विद्यार्थीको सुरक्षित पहुँच र निरन्तर शिक्षालाई समेत ध्यान दिएर पुनर्निर्माणको योजना बनाउन आवश्यक छ।
