
सांकेतिक रूपमा प्रयोग गरिएको, तस्बीर: नेपाल फोटो लाइब्रेरी।
त्रिशूली (नुवाकोट)। भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको भीषण बाढीबाट अति प्रभावित ३ हजारभन्दा बढीको उद्धार गरिएको छ भने १ हजार ५ सय ५८ जना हराएको भन्दै परिवारले खोजतलासका लागि निवेदन दिएका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार सोमबार रातिसम्म रसुवा र नुवाकोटका विभिन्न स्थानबाट ३ हजार २९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये २ हजार ७ सय ७६ जना नेपाली र २ सय ५३ जना विदेशी छन्।
पछिल्लो २४ घण्टामा मात्रै ६ सय २४ जनाको उद्धार गरिएको रेग्मीले बताए। उनका अनुसार बाढीबाट ज्यान जोगाएर सुरक्षित स्थानमा आश्रय लिइरहेका व्यक्तिलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो। उद्धारपछि स्वास्थ्य जाँच गरी उपचार आवश्यक परेकालाई स्वास्थ्य संस्थामा पठाइएको र अन्यलाई परिवारसँग पुनर्मिलन गराइएको छ।
भोटेकोशी बाढीमा फसेकाको उद्धार अन्तिम चरणमा पुगेको बताइएको छ। जलविद्युत् आयोजनाका सुरुङभित्र रहेको भनिएका व्यक्तिबाहेक अधिकांशको उद्धार भइसकेको छ। यद्यपि रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका क्षेत्रमा अझै कोही फसेको हुनसक्ने भन्दै हेलिकप्टरमार्फत नियमित रेकी भइरहेको छ।
यसैबीच, बाढीमा परेर आफन्त हराएको भन्दै आइतबारसम्म १ हजार ५ सय ५८ जनाको खोजतलास निवेदन परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार नुवाकोट र रसुवाका विभिन्न स्थानबाट आफन्त हराएको भन्दै ती निवेदन परेका हुन्।
हराइरहेका व्यक्तिको खोजीका लागि नेपाल प्रहरीको वेबसाइट, जिल्ला प्रहरी कार्यालय, प्रशासन कार्यालय तथा श्री नं. १ सैन्य तालिम केन्द्र विदुरमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ।
हराइरहेका तथा बाढीमा फसेकाको खोज तथा उद्धारका लागि हेलिकप्टर, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेरासहित संयुक्त सुरक्षा फौजको टोली परिचालन गरिएको छ।
बाढीमा परेर ज्यान गुमाएकामध्ये हालसम्म नुवाकोटमा मात्रै ९५ जनाको शव सङ्कलन गरिएको छ। नुवाकोटका विभिन्न ३० स्थानमा संयुक्त सुरक्षा टोली परिचालन गरी गरिएको खोज तथा उद्धारका क्रममा ती शव सङ्कलन गरिएको हो।
सङ्कलन गरिएका शवको पहिचानका लागि प्रहरीले तस्बिरसहितको विवरण सार्वजनिक गरेको छ। शव परीक्षणका लागि नुवाकोटबाट काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको भन्दै सम्बन्धित परिवारलाई अस्पतालमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

