Nepal Purbadhar

सूर्यविनायक नगरपालिकाले विपद् उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ दिने


भक्तपुर। सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।

नगर प्रमुख वासुदेव थापाको अध्यक्षतामा आज बसेको नगरपालिकाको २१५औँ कार्यपालिका बैठकले स्थानीय विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

नगर प्रमुख थापाले भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकाले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरिएको बताए।

उनले राष्ट्रिय विपद्को यस घडीमा मानवीय दायित्व बहन गर्दै आफ्नो क्षेत्रबाट सहयोग गर्न नागरिक समाज, निजी क्षेत्र तथा संघसंस्थालाई आग्रह गरे।

नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाका अनुसार राहत कोषमा नगर प्रमुखबाट ३५ हजार, उपप्रमुखबाट १५ हजार, वडाध्यक्षहरूबाट प्रतिव्यक्ति १० हजारका दरले १ लाख, कार्यपालिका सदस्यहरूबाट प्रतिव्यक्ति ६ हजार तथा वडा सदस्यहरूबाट प्रतिव्यक्ति २ हजार ५०० का दरले रकम उपलब्ध गराउने निर्णय भएको छ।


Read Previous

सम्पर्कविहीनहरूको खोजी तथा उद्धार उच्च प्राथमिकतामा : ऊर्जामन्त्री श्रेष्ठ

Read Next

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा दिइरहेको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तरता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar