
काठमाडौं। बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका यात्रुको स्थलमार्गबाट उद्धार गर्न काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात सेवा सुरु गरेको छ।
महानगरपालिकाले शुक्रबारदेखि एउटा सवारी साधनमार्फत सेवा सुरु गरेको थियो। पहिलो दिन २ बालबालिका, ९ महिला र ८ पुरुष गरी १९ यात्रुको उद्धार गरी काठमाडौं ल्याइएको महानगरपालिकाले जनाएको छ।
शनिबारदेखि भने दुई ओटा सवारी साधनमार्फत निःशुल्क यातायात सेवा सञ्चालन गरिएको छ। तीमध्ये एउटा यसअघि रसुवा–काठमाडौं यात्रु ओसारपसारमा प्रयोग हुँदै आएको ००६ ख ९३३९ नम्बरको १९ सिट क्षमताको बस हो।
अर्को ०३० च ७३६४ नम्बरको सवारी साधन छत्रपाटी निःशुल्क चिकित्सालयले महानगरपालिकाको अनुरोधमा उपलब्ध गराएको हो। उक्त सवारी साधनमा १० जना यात्रु अट्ने क्षमता रहेको छ।
निःशुल्क उद्धारका लागि सञ्चालन गरिएका सवारी साधन पहिचान गर्न अगाडि र पछाडि ब्यानर राखिएको छ। यात्रुको सुरक्षाका लागि दुवै सवारी साधनमा नगर प्रहरी परिचालन गरिएको महानगरपालिकाले जनाएको छ।
उद्धारको आवश्यकता बढ्दै गएमा सवारी साधनको संख्या थप गर्दै सेवा विस्तार गर्ने महानगरपालिकाको योजना छ।
यसैबीच, उद्धार कार्यमा परिचालित जनशक्तिलाई प्रोत्साहित गर्न महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नवीन मानन्धर तथा विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले सभा गृहमा पुगेर कर्मचारीसँग भेट गरेका छन्।
