Nepal Purbadhar

खिम्ती-ढल्केबर २२० केभी लाइनमा समस्या आएपछि काठमाडौंसहित मध्य क्षेत्रमा विद्युत् अवरुद्ध


काठमाडौं । खिम्ती-ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार निर्माणाधीन हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका लागि बिहान ६:४० बजेदेखि हेटौंडा-अमलेखगञ्ज र कमाने-अमलेखगञ्ज १३२ केभी प्रसारण लाइन निर्धारित सटडाउनमा थिए।

त्यस समयमा विद्युत् प्रणाली ढल्केबर-खुर्कोट-खिम्ती-भक्तपुर-स्युचाटार प्रसारण मार्गबाट सञ्चालन भइरहेको थियो।

यसै क्रममा बिहान ८:५२ बजे खिम्ती-ढल्केबर २२० केभी प्रसारण लाइनको सर्किट-१ को तार चुडिएर लाइन ट्रिप भएको थियो। त्यसपछि बिहान ९ः१८ बजे सर्किट-२ समेत ट्रिप भएपछि विद्युत् प्रसारण सम्पर्क विच्छेद भएको प्राधिकरणले जनाएको छ।

यसबाट काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।

आपूर्ति यथाशीघ्र पुनःस्थापना गर्न प्राधिकरणले वैकल्पिक प्रसारण मार्ग प्रयोग गरेको थियो। भारतको उत्तर प्रदेशस्थित सम्पतिया सबस्टेसनबाट मैनहिया सबस्टेसन हुँदै विद्युत् आपूर्ति सञ्चालन गरिएको हो।

वैकल्पिक व्यवस्थामार्फत बिहान ९:४४ बजेदेखि काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति पुनःसुचारु गरिएको प्राधिकरणले जनाएको छ।

हाल प्राविधिक टोलीले अवरुद्ध प्रसारण प्रणालीको स्थलगत निरीक्षण तथा आवश्यक मर्मतसम्भार गरिरहेको छ। प्रसारण लाइनमा देखिएको समस्या पहिचान गरी प्रणालीलाई नियमित सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।


Read Previous

रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार

Read Next

अपर त्रिशूली-३ ‘ए’ का फसेका कर्मचारी उद्धारका लागि टनेल खोलिदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar