Nepal Purbadhar

१५ दिन सडकमा रोकिएपछि २७ लाखको ड्रागन फ्रुट स्थानीयलाई बाँडेर काठमाडौं फर्किए व्यवसायी


जोमसोम । चीनबाट काठमाडौं लैजान ल्याइएको करिब २७ लाख रुपैयाँ बराबरको ड्रागन फ्रुट बेनी-जोमसोम सडक अवरुद्ध भएपछि १५ दिनभन्दा बढी समयदेखि जोमसोममा रोकिएको छ ।

असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढी र पहिरोले सडकमा क्षति पुर्‍याएपछि ड्रागन फ्रुट बोकेको कन्टेनर जोमसोममै रोकिएको हो । सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै समय लाग्ने र ठूला सवारीसाधनसमेत सहज रूपमा सञ्चालन हुन नसकेपछि व्यवसायीले ड्रागन फ्रुट स्थानीयवासीलाई निःशुल्क वितरण गरेका छन् ।

व्यवसायीका प्रतिनिधि सुवास सुनुवारका अनुसार कन्टेनरमा ९२४ क्यारेट ड्रागन फ्रुट थियो । लामो समयसम्म कन्टेनरमै राख्दा जोमसोमको दिउँसोको चर्को घाम र रातिको अत्यधिक चिसोका कारण फल बिग्रिन थालेपछि निःशुल्क वितरण गर्नुपरेको उनले बताए ।

जोमसोममै बिक्री गर्ने प्रयास गरिए पनि पर्याप्त बिक्री हुन नसकेको र सडकको अवस्थाका कारण बेनीसम्म पुर्‍याउनसमेत सम्भव नभएपछि स्थानीयलाई वितरण गरिएको सुनुवारले बताए ।

निःशुल्क ड्रागन फ्रुट वितरण हुने खबर पाएपछि स्थानीयवासी कन्टेनर रहेको स्थानमा पुगेका थिए । व्यवसायीले फल वितरण गरेपछि स्थानीयले आवश्यकताअनुसार ड्रागन फ्रुट लगेका थिए ।

सडक अवरोधका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरे पनि फल बिग्रिएर खेर जानुभन्दा स्थानीयलाई निःशुल्क वितरण गर्नु उचित भएको सुनुवारले बताए । ड्रागन फ्रुट वितरण गरेपछि उनी काठमाडौं फर्किने तयारीमा छन् ।

तस्बिर : सन्दीप शर्मा / नेपाल फोटो लाइब्रेरी


Read Previous

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

Read Next

तीन महिना नपुग्दै फेरिए विद्युत विकास विभागका महानिर्देशक, मण्डलले पाए जिम्मेवारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar