Nepal Purbadhar

म्याग्दीमा सुक्खा पहिरो खस्दा जलविद्युत् आयोजनामा क्षति, कामदार बेपत्ता


म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, पोखरेबगरमा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा सुक्खा पहिरो खस्दा एक कामदार बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।

आज बिहान विद्युत्गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर विद्युत्गृह पुरिँदा अन्नपूर्ण गाउँपालिका-६ का ५५ वर्षीय दीपक बरुवाल बेपत्ता भएका हुन्।

पहिरोमा परी गौरीगङ्गा नगरपालिका-५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्। उनलाई उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार बेपत्ता बरुवालको खोजी भइरहेको छ। प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको टोली खोजी तथा उद्धारमा परिचालन गरिएको छ।

पहिरोका कारण म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाटको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा क्षति पुगेको छ।

पहिरोले विद्युत्गृहका उपकरणमा समेत क्षति पुर्‍याएपछि आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ। आयोजनामा भएको क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको प्रहरीले जनाएको छ।

विद्युत्गृहभन्दा माथिल्लो भागबाट अचानक ढुङ्गासहितको सुक्खा पहिरो खसेपछि घटना भएको हो। पहिरोपछि विद्युत्गृह तथा आसपासको क्षेत्रमा थप जोखिम हुनसक्ने भएकाले उद्धार टोलीले सावधानीपूर्वक खोजी तथा उद्धारको काम गरिरहेको छ।


Read Previous

८२८ मेगावाटको उत्तरगंगा जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढ्ने, पायो उत्पादन अनुमति

Read Next

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरू, आईजीपी कार्कीले गरे उद्घाटन- तस्बीरहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar