
एआई तस्बीर।
काठमाडौं। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई नगद कारोबारको सक्कल बिल दर्ता गराउन आह्वान गरेको छ। विभागले शनिबार सूचना जारी गर्दै साउन १ गतेदेखि १०० रुपैयाँभन्दा बढीको नगद खरिदमा प्यान (PAN) वा भ्याट (VAT) बिल लिएका उपभोक्ताले अब आफ्नो बिल अनलाइन दर्ता गर्न सक्ने जनाएको हो।
विभागका उपमहानिर्देशक तथा सहसचिव जनकराज शर्माका अनुसार यसका लागि prize.ird.gov.np नामक करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा ल्याइएको छ। नेपालभित्र आफ्नै प्रयोजनका लागि एकपटकमा १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल बिल लिएका योग्य उपभोक्ताले उक्त पोर्टलमा गएर आफ्नो बिल अपलोड गर्न सक्नेछन्।
यद्यपि, क्यूआर (QR) मार्फत गरिएको भुक्तानीका हकमा भने अहिले बिल दर्ता गर्न आवश्यक नपर्ने विभागले स्पष्ट पारेको छ। बैंक वा डिजिटल वालेटको क्यूआरमार्फत गरिएको १०० रुपैयाँभन्दा माथिको कारोबार प्रणालीमै स्वतः समावेश हुने भएकाले उपभोक्ताले केवल आफ्नो कारोबारको ट्रान्ज्याक्सन विवरण सुरक्षित राख्नुपर्नेछ।
विभागका अनुसार उपहार विजेता घोषणा भएपछि भने सक्कल प्यान वा भ्याट बिल अनिवार्य रूपमा पेश गर्नुपर्ने भएकाले सबै बिल सुरक्षित राख्न आग्रह गरिएको छ।
यसका साथै, आफूले खरिद गरेको वस्तु वा सेवाको सक्कल प्यान तथा भ्याट बिल अनिवार्य रूपमा माग्न र बिल नपाए विभागलाई जानकारी गराउन पनि उपभोक्तालाई अनुरोध गरिएको छ।
आगामी सातादेखि पहिलो नतिजा सार्वजनिक हुने
साउन १ गतेदेखि लागू भएको करदाता प्रोत्साहन कार्यक्रमको पहिलो १५ दिनको नतिजा आगामी साताभित्र सार्वजनिक गर्ने तयारी विभागले गरेको छ।
विभागका अनुसार प्राविधिक तयारी पूरा भइसकेको छ। कुनै ठूलो प्राविधिक समस्या नआए दैनिक एक लाख रुपैयाँका दरले १५ जना विजेता तथा पहिलो १५ दिनको बम्पर उपहारस्वरूप १० लाख रुपैयाँका एक जना विजेताको घोषणा आगामी साता गरिनेछ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिल लिने संस्कृतिको विकास गर्ने, कर छली नियन्त्रण गर्ने तथा उपभोक्तालाई कर प्रणालीमा सहभागी गराउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा गरेका थिए।
सोही घोषणाअनुसार अर्थ मन्त्रालयले असारको अन्तिम साता कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत गरेको थियो। कार्यविधिअनुसार हरेक दिन एक जना योग्य उपभोक्तालाई कर कट्टीपछि १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने प्रत्येक १५ दिनमा एक जना विजेताले १० लाख रुपैयाँको बम्पर नगद उपहार प्राप्त गर्ने व्यवस्था गरिएको छ।
