Nepal Purbadhar

कांग्रेसमा अर्को उपगुट,एकताका लागि भन्दै साउन २० मा राष्ट्रिय भेला गर्ने


काठमाडौं। पार्टीको आन्तरिक विवादमा अल्झिएको नेपाली काँग्रेसमा पार्टी एकताका नाममा अर्को ‘देश र कांग्रेस जोड्ने अभियान’ उपगुट देखा परेको छ। नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक मतभेद र संगठनात्मक चुनौती अन्त्य गर्दै पार्टी एकतालाई सुदृढ बनाउने उद्देश्यले ‘देश र कांग्रेस जोड्ने अभियान’ले आगामी साउन २० गते काठमाडौंमा ‘राष्ट्रिय एकता भेला’ समेत आयोजना गर्ने भएको छ।

अभियानले आइतबार सार्वजनिक गरेको पत्रकार सम्मेलनमा वक्तव्य नेपाली कांग्रेसको एकता लोकतन्त्रको रक्षा र राष्ट्रको स्थायित्वसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै पार्टीभित्र लामो समयदेखि देखिएको अविश्वास र आन्तरिक किचलोले संगठन कमजोर बनेको जनाएको छ।

वक्तव्यमा नेपाली कांग्रेस कमजोर हुँदा लोकतन्त्र पनि कमजोर हुने र पार्टी विभाजित हुँदा लोकतान्त्रिक शक्ति तथा राष्ट्रिय हितमाथि प्रतिगामी शक्तिहरू हाबी हुने वातावरण बन्ने उल्लेख गरिएको छ। त्यसैले कांग्रेसको एकतालाई दलगत स्वार्थभन्दा माथिको राष्ट्रिय दायित्वका रूपमा लिनुपर्ने अभियानको धारणा छ।

अभियानले वर्तमान राजनीतिक तथा सामाजिक अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेको छ। सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिँदा नागरिकले ज्यान गुमाएको, धनसम्पत्तिमा क्षति पुगेको तथा सामाजिक सद्भावमा असर परेको वक्तव्यमा उल्लेख छ। साथै आर्थिक मन्दी, बेरोजगारी, युवाको विदेश पलायन, सुशासनको संकट र जनजीविकाका समस्या गम्भीर बन्दै गएको पनि अभियानले जनाएको छ।

सरकार राष्ट्रिय मुद्दामा प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको जनगुनासो बढिरहेका बेला प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु लोकतन्त्रका लागि पनि चिन्ताको विषय बनेको अभियानको भनाइ छ।

यही अवस्थालाई मध्यनजर गर्दै सुरु गरिएको ‘देश र कांग्रेस जोड्ने अभियान’ले एकताबद्ध कांग्रेसले मात्रै जनताको विश्वास पुनः स्थापित गर्न, लोकतन्त्रको प्रभावकारी रक्षा गर्न र देशलाई सही राजनीतिक दिशामा अघि बढाउन सक्ने विश्वास व्यक्त गरेको छ।

अभियानअन्तर्गत आगामी २०८३ साउन २० गते बिहान ११:०० बजे काठमाडौंको मिराकल पार्टी प्यालेस, सुकेधारामा ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने जनाएको छ।

भेलामा देशभरका ७५३ पालिका, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका साथै विभिन्न लिङ्ग, वर्ग, समुदाय र तहबाट प्रतिनिधित्व सुनिश्चित गरिने अभियानले जनाएको छ।

अभियानका अनुसार यो कार्यक्रम कुनै व्यक्ति, गुट वा पदका लागि नभई एकताबद्ध कांग्रेस, सुदृढ लोकतन्त्र र समृद्ध नेपालको साझा संकल्पका रूपमा आयोजना गर्न लागिएको हो। भेलाबाट पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्ध पुनर्जीवित गर्ने तथा अभियानको आगामी कार्ययोजना सार्वजनिक गरिने बताइएको छ।

अभियानले नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक, लोकतन्त्रप्रेमी नागरिक तथा सञ्चारमाध्यमलाई अभियानमा साथ, सहयोग र सकारात्मक सहभागिताका लागि आह्वान पनि गरेको छ।


Read Previous

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, नगद कारोबारको बिल दर्ता गर्न आन्तरिक राजस्वको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar