
फाइल तस्बीर।
काठमाडौं। अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको अवस्थाबारे जानकारी सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको र केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।
वर्षाका कारण इलाम नगरपालिका-९ अन्तर्गत मेची राजमार्गको सडक हिलाम्मे भएपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
त्यस्तै, दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारस्थित लामासाँघु-रामेछाप सडकखण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि सवारी सञ्चालन ठप्प भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टे क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरेपछि पासाङ ल्हामु राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
गोरखाको धार्चे गाउँपालिका-३ अन्डरडाँडामा पहिरो खसेपछि लार्के-बेनीघाट कच्ची सडक पनि पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न तथा आवश्यक सतर्कता अपनाउन सबै यात्रु र सवारी चालकलाई आग्रह गरेको छ।
