Nepal Purbadhar

ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभाग दुई सिफ्टमा चल्ने

फाईल तस्वीर


काठमाडौं । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने नेपालीको संख्या बढेसँगै राहदानी विभागले साउन १४ गतेदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ। विभागले सेवा प्रवाह सहज बनाउन दैनिक राहदानी उत्पादन क्षमता पनि विस्तार गरी करिब १ हजार ५००
ओटा पुर्‍याएको जनाएको छ।

विभागका अनुसार साउन १४ देखि २२ गतेसम्म विद्युतीय राहदानीसम्बन्धी सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ। साउन १४ देखि १८ गतेसम्म पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ भने दोस्रो सिफ्ट त्यसपछि सञ्चालन गरिनेछ। शनिबार, आइतबार तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन हुने विभागले जनाएको छ।

राहदानी विभागले पछिल्लो एक सातादेखि विशेषगरी ईपीएस आवेदनकर्ताको चाप उल्लेख्य रूपमा बढेपछि सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको जनाएको छ।

विभागका अनुसार अहिले दैनिक करिब १ हजार ५०० वटा विद्युतीय राहदानी उत्पादन तथा छपाइ भइरहेको छ। विद्युतीय राहदानी वितरण सुरु भएको प्रारम्भिक चरणमा भने दैनिक करिब १०० वटा मात्रै राहदानी उत्पादन हुने गरेको थियो।

हाल सेवा काठमाडौंमा मात्र सीमित नरही देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, विभिन्न इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत पनि विद्युतीय राहदानी सेवा उपलब्ध हुँदै आएको विभागले जनाएको छ।

विभागले राहदानी उत्पादन क्षमता थप विस्तार गर्ने काम जारी रहेको जनाएको छ। वैदेशिक रोजगारी, अध्ययन, उपचार, भ्रमण तथा अन्य प्रयोजनका लागि विदेश जाने नेपालीको संख्या बढ्दै जाँदा राहदानीको माग पनि निरन्तर बढिरहेको विभागको भनाइ छ।

त्यसैगरी, सेवा प्रवाहका क्रममा देखिएका प्राविधिक समस्या आगामी एक महिनाभित्र समाधान गर्ने र तीन महिनाभित्र सम्पूर्ण प्रणालीलाई स्थिर बनाउने लक्ष्यका साथ प्राविधिक तथा व्यवस्थापकीय सुधार अघि बढाइएको विभागले जनाएको छ।

सेवाग्राहीले अनावश्यक सास्ती व्यहोर्न नपरोस् भन्ने उद्देश्यले प्रणालीको क्षमता, स्थायित्व र कार्यसम्पादन सुधारमा निरन्तर काम भइरहेको विभागले उल्लेख गरेको छ। अत्यावश्यक अवस्थामा राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराइने पनि विभागले जनाएको छ।


Read Previous

मन्त्रिपरिषद्का निर्णय: ९ विधेयक संसदमा लैजाने, राहदानी ऐन संशोधनदेखि अन्य के के छन्?

Read Next

सरकारको होम डेलिभरी सेवा: मासिक झन्डै २ लाख आवेदन, घरमै पुग्यो ९ हजार मात्रै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar