
काठमाडौं । वर्षायाममा पटक-पटक डुबान हुने माइतीघर क्षेत्रको समस्या समाधान गर्न ढल सफाइ तथा मर्मतको काम सुरू गरिएको छ। सडक डिभिजन काठमाडौंले काठमाडौं महानगरपालिकासँग समन्वय गरी बुधबारदेखि ढल निकासको भित्री अवस्था अध्ययन र मर्मत कार्य अघि बढाएको हो।
कामको सुरुआत नेपाली सेनाको मुख्यालय गेटअगाडिको क्षेत्रमा डोजर प्रयोग गरेर ढलमाथिको सतह भत्काउँदै गरिएको छ। ढल खोलेर भित्रको अवस्था निरीक्षण गर्ने, जम्मा भएको फोहोर हटाउने तथा साँघुरो भएका स्थानलाई फराकिलो बनाउने काम गरिने सडक डिभिजनले जनाएको छ।
सडक डिभिजन काठमाडौंका प्रमुख सुवोध देवकोटाका अनुसार अहिले समस्या नदेखिएका स्थानलाई पनि भविष्यमा सहज रूपमा सफाइ गर्न मिल्ने गरी ढल संरचना तयार पारिनेछ। फोहोर थुप्रिन नदिने गरी आरसीसी ढल निर्माण गर्ने योजना पनि रहेको उनले बताए।
डुबानको दीर्घकालीन समाधानका लागि नेपाली सेना, थापाथली क्याम्पस, तथ्याङ्क विभागलगायत सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए।
माइतीघरमा हालै भएको डुबानपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राविधिक समिति गठन गरेको थियो। समितिको प्रतिवेदनले ढलका पाइपको आकार असमान हुनु, टुकुचा खोलाको सतह बढ्दा पानी सडकतर्फ फर्किनु तथा अत्यधिक कंक्रिट संरचनाका कारण वर्षाको पानी जमिनमा सोसिन नसक्नु डुबानका प्रमुख कारण रहेको औँल्याएको थियो।
