
असारसम्मको विद्युत् खपतमा भ्याट नलाग्ने, साउन १ देखि डिमान्ड चार्जमा पनि लागू हुने
-
नेपाल पूर्वाधार - साउन ११, २०८३
- अपडेट

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी अन्योल हटाउन सार्वजनिक सूचना जारी गर्दै असार मसान्तसम्मको विद्युत् खपतमा भ्याट नलाग्ने स्पष्ट पारेको छ।
विभागका अनुसार आर्थिक ऐन, २०८३ मार्फत मूल्य अभिवृद्धि कर ऐन, २०५२ संशोधन गरी विद्युत् सेवाको अन्तिम उपभोक्ताबाट ५ प्रतिशत र अन्य व्यक्तिबाट १३ प्रतिशतका दरले भ्याट असुल गर्ने व्यवस्था गरिएको भए पनि उक्त व्यवस्था २०८३ साउन १ गतेदेखि मात्र लागू हुन्छ। त्यसैले असार ३२ गतेसम्म खपत भएको विद्युत्को बिल साउन १ गते वा त्यसपछि जारी भए पनि उक्त खपतमा भ्याट लाग्ने छैन।
विभागले साउन १ गतेदेखि जारी भएका कर बिजकमा न्यूनतम शुल्क (Minimum Charge) वा डिमान्ड चार्जमा भ्याट लाग्ने वा नलाग्ने विषयमा सर्वसाधारण, उपभोक्ता तथा केही व्यवसायीबीच अन्योल देखिएको भन्दै त्यससम्बन्धी पनि स्पष्ट पारेको छ।
सूचनाअनुसार नेपाल विद्युत् प्राधिकरणले स्वीकृत ट्यारिफअनुसार लिने न्यूनतम शुल्क वा डिमान्ड चार्ज पनि विद्युत् सेवाकै शुल्क भएकाले साउन १ गतेदेखि भएको विद्युत् खपतमा त्यस्ता शुल्कमा समेत भ्याट लाग्नेछ। विभागले यस विषयमा थप द्विविधा नराख्न सबै सरोकारवालालाई जानकारी गराएको छ।
