
भद्रपुर। पूर्व-पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा-लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा हालसम्म ३७ दशमलव ७८ प्रतिशत भौतिक प्रगति भएको छ।
सडक विभागअन्तर्गत आयोजना निर्देशनालयमार्फत अघि बढाइएको ९५ किलोमिटर लामो आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरिएको छ। पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ।
आयोजनाको पछिल्लो विवरणअनुसार पूर्वी खण्डअन्तर्गत पहिलो, दोस्रो र तेस्रो प्याकेजको समग्र भौतिक प्रगति ३७ दशमलव ७८ प्रतिशत पुगेको हो। निर्माण कार्यले पछिल्लो समय गति लिए पनि सम्झौता अवधि सकिन करिब छ महिना मात्र बाँकी रहेकाले म्याद थप आवश्यक देखिएको आयोजनाले जनाएको छ।
पूर्वी खण्डका आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म १६ दशमलव पाँच किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको छ। मौसमले साथ दिए दैनिक ४०० देखि ८०० मिटरसम्म कालोपत्रे गर्ने लक्ष्य रहेको उनले बताए।
निर्माण व्यवसायीसँग पर्याप्त बिटुमिन मौज्दात रहेकाले आगामी दशैंसम्म थप १५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको पन्तले बताए। वर्षायामका कारण केही अवरोध भए पनि निर्माण कार्यलाई निरन्तरता दिइरहेको उनको भनाइ छ।
पूर्वी खण्डमा इभरस्कोन–कालिका जेभीले सडक स्तरोन्नतिको काम गरिरहेको छ। काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर सडक स्तरोन्नतिका लागि १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको हो।
निर्माण कार्य २०८० माघ १९ गतेदेखि शुरू भएको थियो भने २०८३ माघ १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
एसियाली विकास बैंकको ८४ दशमलव नौ प्रतिशत ऋण र नेपाल सरकारको १५ दशमलव एक प्रतिशत लगानी रहेको आयोजना सम्पन्न भएपछि सहरी क्षेत्रमा चार लेनको सडक, बीचमा तीन मिटर चौडा डिभाइडर र दुवैतर्फ सर्भिस लेनसहित करिब ५० मिटर चौडाइको सडक संरचना निर्माण हुनेछ।
