Nepal Purbadhar

विद्युत् वितरण प्रणाली सुधार गर्न प्राधिकरणको २६ बुँदे निर्देशन


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण प्रणालीमा देखिएका अवरोध, कमजोर विश्वसनीयता, असुरक्षित संरचना, बढ्दो प्राविधिक तथा गैरप्राविधिक चुहावट, बक्यौता महसुल र उपभोक्ता सेवासम्बन्धी समस्या समाधान गर्न २६ बुँदे सुधारात्मक निर्देशन जारी गरेको छ ।

वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं उपकार्यकारी निर्देशक राजन ढकालले जिम्मेवारी सम्हालेको पहिलो दिन प्रादेशिक तथा डिभिजन कार्यालयका प्रमुखसँग विस्तृत छलफल गर्दै स्पष्ट जिम्मेवारी, लक्ष्य र समयसीमासहित निर्देशन दिएका हुन् ।

पछिल्लो समय विद्युत् आपूर्तिमा बारम्बार अवरोध, फिडर ट्रिपिङ, ओभरलोड भएका ट्रान्सफर्मर, कमजोर जम्पर तथा कन्डक्टर, रुखका हाँगा र झाडीका कारण लाइनमा समस्या, असुरक्षित पोल तथा वितरण संरचना, ढिलो मर्मत तथा उपभोक्ताका गुनासा समयमै सम्बोधन नहुने समस्या देखिँदै आएको छ ।

यस्ता समस्या समाधानका लागि विद्युत् आपूर्तिको निरन्तरता र विश्वसनीयतालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिइएको छ । बढी अवरोध हुने क्षेत्र तथा फिडर पहिचान गरी समस्या, जिम्मेवार व्यक्ति र समयसीमासहित सुधार योजना बनाउन तथा स्वीकृत कार्यक्रमअन्तर्गत १५ दिनभित्र ठेक्का प्रक्रिया शुरू गर्न भनिएको छ ।

वितरण प्रणाली सुधारका अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना एक साताभित्र पेश गर्न तथा सम्भव भएका ३३/११ केभी सबस्टेसनलाई रिङ प्रणालीमा जोड्ने योजना तयार गर्न पनि निर्देशन दिइएको छ ।

प्रत्येक प्रादेशिक कार्यालयले सबैभन्दा बढी अवरोध हुने २० वटा फिडरलाई ‘प्रायोरिटी रिलायबिलिटी फिडर’ घोषणा गरी ट्रिपिङ, दोहोरिने खराबी, लोडको अवस्था, कमजोर उपकरण र सुधार कार्यको साप्ताहिक समीक्षा गर्नुपर्नेछ ।

विद्युत् अवरोधको कारण, प्रभावित क्षेत्र र सेवा पुनःस्थापनामा लागेको समयको अभिलेख राख्न प्राविधिक टोली परिचालन गरिनेछ । आगामी दुई महिनासम्म रुखका हाँगा काट्ने, झाडी सफा गर्ने, जम्पर कस्ने वा फेर्ने, लाइन करिडोर खाली गर्ने तथा जोखिमयुक्त स्थान सुधार्ने विशेष अभियान सञ्चालन गरिने भएको छ ।

असुरक्षित ट्रान्सफर्मर, पोल, लाइन, वितरण बक्स, स्टे र अर्थिङ पहिचान गरी जोखिमका आधारमा तत्काल सुधार गर्न तथा स्थायी समाधान नहुँदासम्म सुरक्षित अस्थायी व्यवस्था गर्न निर्देशन दिइएको छ ।

ओभरलोड भएका ट्रान्सफर्मर र फिडरमा लोड तथा फेज सन्तुलन, लोड स्थानान्तरण, ट्रान्सफर्मर स्तरोन्नति, नयाँ ट्रान्सफर्मर जडान, कन्डक्टरको क्षमता वृद्धि र फिडर विभाजनजस्ता उपाय अपनाइनेछ ।

प्राधिकरणले खराबी आएपछि मात्र मर्मत गर्ने अभ्यास अन्त्य गर्दै पूर्वसावधानीमूलक मर्मतलाई प्राथमिकता दिने भएको छ । लाइन, फिडर, ट्रान्सफर्मर र अन्य संरचनाको वार्षिक, अर्धवार्षिक तथा मासिक मर्मत तालिका लागू गरिनेछ ।

योजनाबद्ध विद्युत् बन्दको सूचना आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत अग्रिम रूपमा तथा आकस्मिक अवरोधको सूचना तत्काल प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सुरक्षालाई विशेष प्राथमिकता दिँदै सञ्चालन, मर्मत, परीक्षण र सेवा पुनःस्थापनाका काम स्वीकृत सुरक्षा मापदण्डअनुसार मात्र गर्नुपर्ने स्पष्ट गरिएको छ । फिल्डमा पोर्टेबल सेफ्टी कसन बोर्ड र कामअनुसार आवश्यक व्यक्तिगत सुरक्षा उपकरणको प्रयोग अनिवार्य गरिएको छ ।

वितरण चुहावट घटाउन बढी लस भएका क्षेत्र, फिडर, ट्रान्सफर्मर र ग्राहक समूह पहिचान गरी कार्यालयगत लक्ष्य तोकिनेछ । फिडर तथा ट्रान्सफर्मरअनुसार ऊर्जा लेखाङ्कन, मिटर रिडिङ, बिलिङ र ग्राहक अभिलेख सुधार गर्दै मिटर बाइपास, विद्युत् चोरी र अस्वाभाविक खपत नियन्त्रण गरिनेछ ।

सरकारी निकाय, स्थानीय तह, सार्वजनिक संस्था तथा सडक बत्तीको बक्यौता महसुल असुलीलाई प्रभावकारी बनाउने र समयभित्र महसुल नतिर्ने ग्राहकको लाइन काट्ने कार्यलाई तीव्रता दिने निर्देशनसमेत जारी भएको छ ।

त्यसैगरी, वितरण प्रणालीको जीआईएसमा आधारित अभिलेख तयार गर्ने, नयाँ संरचनाको विवरण तत्काल अद्यावधिक गर्ने, नियमित स्थलगत निरीक्षण गराउने तथा विश्वसनीयता, चुहावट, राजस्व, ट्रान्सफर्मर खराबी, गुनासा, मौज्दात र सुरक्षासम्बन्धी तथ्यांकमा आधारित मासिक प्रतिवेदन पेश गर्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले वितरण प्रणालीको सुधार, उपभोक्ता सेवाको गुणस्तर वृद्धि र परिणाममुखी व्यवस्थापनमा स्पष्ट निर्देशन दिएको प्राधिकरण स्रोतले जनाएको छ ।

प्राधिकरण स्रोतका अनुसार २६ बुँदे निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन भएमा लाइन अवरोध र बारम्बार हुने खराबी घट्नुका साथै वितरण प्रणाली थप सुदृढ हुने अपेक्षा गरिएको छ । यसबाट कार्य संस्कृति, कर्मचारीको उत्पादकत्व, विद्युत् सुरक्षा, राजस्व असुली, वितरण विश्वसनीयता, उपभोक्ता सेवा, सम्पत्ति व्यवस्थापन र संस्थागत जवाफदेहितामा सुधार आउने अपेक्षा गरिएको छ ।


Read Previous

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

Read Next

जलविद्युत् आयोजनाको आरसीओडी थप गर्नेबारे ऊर्जामन्त्री र प्रवर्द्धकबीच छलफल हुँदै, केहिको आजै थपिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar