Nepal Purbadhar

एक वर्षमा ५८ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत, आईटी क्षेत्रमा सबैभन्दा धेरै


काठमाडौं। उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा कुल ५८ अर्ब एक करोड ८५ लाख रुपैयाँभन्दा बढी बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत गरेको छ।

विभागका अनुसार गत आर्थिक वर्षभर अटोमेटिक रुटमार्फत ८९७ वटा परियोजनाका लागि नौ अर्ब ५८ करोड रुपैयाँ र अप्रुभ्ड रुटमार्फत २१९ वटा परियोजनाका लागि ४८ अर्ब ४१ करोड ६६ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको हो।

क्षेत्रगत रूपमा हेर्दा सूचनाप्रविधि (आईटी) क्षेत्रमा सबैभन्दा धेरै ७२७ परियोजनाले वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त गरेका छन्। यस क्षेत्रमा दुई अर्ब ८३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

पर्यटन क्षेत्रमा २२७ परियोजनाका लागि १३ अर्ब ९९ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ।

त्यसैगरी, कृषिमूलक क्षेत्रमा १८ परियोजनाका लागि २३ अर्ब १८ करोड रुपैयाँ, उत्पादनमूलक क्षेत्रमा ६३ परियोजनाका लागि तीन अर्ब ९१ करोड रुपैयाँ तथा ऊर्जा क्षेत्रमा चार परियोजनाका लागि सात अर्ब १६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत वैदेशिक लगानी प्रतिबद्धताले सूचना प्रविधि, पर्यटन, कृषि, उत्पादन र ऊर्जा क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण कायम रहेको संकेत गरेको छ।


Read Previous

बाढीको एक वर्षपछि पनि रसुवागढीको सुक्खा बन्दरगाह अलपत्र, दुई अर्बभन्दा बढी लगानी जोखिममा

Read Next

साउनभित्र सञ्चालनमा आउने तयारीमा नागढुङ्गा सुरुङमार्ग, प्रवर्द्धनका लागि ‘टनेल रन एण्ड वाक’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar