
काठमाडौं। प्रतिनिधिसभाका सभामुखले सांसदहरूलाई संसदीय बिदाको समय जनतासँग प्रत्यक्ष संवाद गर्ने अवसरका रूपमा उपयोग गर्न निर्देशन दिएका छन्। उनले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्र पुगेर जनताका गुनासा, सुझाव र अपेक्षा सङ्कलन गरी संसद्मा प्रस्तुत गर्न आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको दोस्रो अधिवेशन अन्त्य गर्दै सभामुखले चालु अधिवेशनमा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयकलगायत महत्वपूर्ण विधेयक पारित भएको उल्लेख गर्दै आगामी अधिवेशनमा पनि सांसदहरूले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
सभामुखले आर्थिक वर्षको अन्त्यतिर आइपुगेको अवस्थामा सरकारले कार्यान्वयन गरेका नीति, कार्यक्रम, कानुन तथा सार्वजनिक सेवा प्रवाहबारे जनताको प्रतिक्रिया बुझ्नु सांसदहरूको प्रमुख दायित्व भएको बताए।
उनले संविधानले परिकल्पना गरेको सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्य, सहअस्तित्व र समन्वयलाई प्रभावकारी बनाउन सांसदहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए। प्रदेश र स्थानीय तहका समस्या तथा आवश्यकतालाई सङ्घीय तहसम्म पुर्याउने जिम्मेवारी पनि सांसदकै काँधमा रहेको उनको भनाइ थियो।
सभामुखले संसद् लोकतन्त्रको केन्द्रबिन्दु भए पनि यसको प्रभावकारिता सांसद र जनताबीचको सम्बन्धमा निर्भर रहने बताए। जनताको आवाज संसद्सम्म र संसद्का निर्णय जनतामाझ पुर्याउनु नै जनप्रतिनिधिको मूल दायित्व भएको उनको भनाइ थियो।
संसदीय बिदालाई जनतासँगको विमर्शमा रूपान्तरण गर्न आग्रह गर्दै उनले सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग प्रत्यक्ष छलफल गर्न, उनीहरूका समस्या, सुझाव र अपेक्षा सङ्कलन गर्न तथा ती विषय संसद्मा उठाउन आग्रह गरे।
सभामुखले जनताबाट आएका विषय संसद्मार्फत सरकारसम्म पुग्ने र त्यसको समाधान खोजिने प्रक्रियाले प्रतिनिधिमूलक लोकतन्त्रलाई थप सुदृढ बनाउने उल्लेख गरे।
उनले सरकारले आगामी आर्थिक वर्षलाई ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा गरेको स्मरण गराउँदै प्रचलित कानुनको पुनरावलोकन, संशोधन, एकीकरण तथा आवश्यक नयाँ कानुन निर्माणमा संसद्को भूमिका अझ महत्वपूर्ण रहने बताए।
प्रतिनिधिसभाको अर्को बैठक साउन १४ गते बिहीबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको सभामुखले जानकारी दिए।

