
काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १० हजार ५०० रुपैयाँले घटेर दुई लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा सुनको मूल्यमा आएको यो गिरावट पछिल्लो समयकै उच्चमध्ये एक मानिएको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३०५ रुपैयाँले घटेर चार हजार ६४० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला चार हजार ९४५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरूको भनाइ छ।





