
काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) उपमहासचिव प्रकाश दुलाल सहितले आयोजना गरेको भेलाले संस्थाको विधान संशोधन गरी साधारणसभाबाट पारित गरेपछि मात्रै निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष निकालेका छन्।
बालुवाटारस्थित सिल्भर वर्क पार्टी प्यालेसमा आयोजित ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले संस्थाको एकता, लोकतान्त्रिक अभ्यास र समावेशी नेतृत्व चयनका लागि विधानलाई समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा इप्पानका उपमहासचिव प्रकाश दुलालले हाल देशमा करिब ४३ सय मेगावाट जडित क्षमतामध्ये ३ हजार ६६२ मेगावाट अर्थात् ८५ प्रतिशत विद्युत् निजी क्षेत्रबाट उत्पादन भइरहेको जानकारी दिए। उनका अनुसार निजी क्षेत्रले करिब ५ हजार ८०० मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको छ भने २ हजार १०० मेगावाट क्षमताका आयोजना पीपीए भएर निर्माणको तयारीमा छन्।
उनले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न पीपीएका लागि आवेदन दिएका करिब १६ हजार मेगावाट क्षमताका आयोजनाको सम्झौता प्रक्रिया तत्काल खुलाउन आवश्यक रहेको बताए।
दुलालले जलविद्युत् र सौर्य ऊर्जा क्षेत्रका हजारौँ मेगावाट क्षमताका आयोजना विभिन्न चरणमा अगाडि बढिरहेको उल्लेख गर्दै इप्पानमा सदस्यता विस्तार र संस्थाप्रति आकर्षण बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले नेतृत्व चयनलाई थप लोकतान्त्रिक, खुला र प्रतिस्पर्धात्मक बनाउन विधान कार्यान्वयनमा जोड दिए।
इप्पानका संस्थापक अध्यक्ष डा. सन्दीप शाहले सन् २००० (वि.सं. २०५७) मा चार कम्पनीबाट सुरु भएको संस्था अहिले करिब ७०० सदस्य कम्पनीको साझा मञ्च बनेको भन्दै संस्थागत एकता कायम राख्दै ऊर्जा विकासका मुद्दामा सरकारसँग प्रभावकारी रूपमा पैरवी गर्नुपर्ने बताए।
वरिष्ठ ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेले साधारणसभाबाट विधान पारित गरी केही समयपछि निर्वाचन सम्पन्न गर्न सुझाव दिए। उनले संस्थामा काम गर्ने नेतृत्वको आवश्यकता औँल्याउँदै सबै पक्षलाई एकताबद्ध हुन आग्रह गरे।
ऊर्जा उद्यमी विनोद देवकोटाले यसअघि तयार पारिएको विधान संशोधन प्रस्ताव कार्यान्वयन गरेर संस्थालाई एकताबद्ध बनाउन नेतृत्वसमक्ष आग्रह गरे। नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष सुवास बरालले पनि सदस्यहरूको सुझाव समेटेर सबैलाई स्वीकार्य हुने गरी विधान संशोधन गरी निर्वाचन गर्नुपर्ने धारणा राखे।
वरिष्ठ उपाध्यक्षका दाबेदार उत्तम भ्लोनले संस्थाभित्र विभाजनभन्दा सहमति र एकताको वातावरण आवश्यक रहेको बताए। उनले संस्थाको बृहत्तर हितका लागि आवश्यक परे आफ्नो दाबी त्याग्नसमेत तयार रहेको उल्लेख गरे।
इप्पानका सल्लाहकार लालकृष्ण केसीले संस्थाको अन्तर्राष्ट्रिय छवि र विश्वसनीयता जोगाउन सदस्यबीचको एकता अपरिहार्य रहेको बताए भने वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले बदलिँदो आवश्यकता अनुसार विधानलाई थप परिष्कृत गर्दै लैजानुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा इप्पान अध्यक्ष गणेश कार्कीले सरकारको १०० बुँदे कार्यक्रममा ३० हजार मेगावाट विद्युत् उत्पादन, पीपीए खुलाउने र ‘वान डोर पोलिसी’ जस्ता विषय समावेश हुनु इप्पानको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले संस्थाभित्र देखिएका विवादहरू संवाद र सहमतिमार्फत समाधान गरिने प्रतिबद्धता जनाए।
कार्यक्रमका अध्यक्ष तथा इप्पानका पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले आगामी साधारणसभामा लैजाने विधान संशोधन प्रस्ताव सबैले स्वीकार गर्ने साझा दस्तावेज हुनुपर्ने बताए। उनले जालझेलरहित, पारदर्शी र लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए।
महासचिव बलराम खतिवडाले नेतृत्वमा नैतिकता र नयाँ पुस्ताको सहभागिता आवश्यक रहेको बताउँदै निर्वाचनलाई थप खुला र प्रतिस्पर्धात्मक बनाउनुपर्ने धारणा राखे। उनले आफू नेतृत्वमा आए दुई वर्षभन्दा बढी पदमा नबस्ने घोषणा गर्दै नेतृत्व हस्तान्तरणको नयाँ संस्कार विकास गर्नुपर्ने बताए।
कार्यक्रममा सहभागी अधिकांश ऊर्जा उद्यमीहरूले संस्थागत एकतालाई प्राथमिकता दिन आग्रह गर्दै सर्वसम्मतिबाट नेतृत्व चयन गर्न सके संस्थाको प्रभावकारिता अझ बलियो हुने बताएका थिए। उनीहरूले निर्वाचनभन्दा पनि साझा सहमतिले संस्थालाई थप सुदृढ बनाउने धारणा राखेका छन्।
इप्पानको २४औँ वार्षिक साधारणसभामा प्रस्तुत हुने विधान संशोधन प्रस्तावबारे राय–सुझाव संकलन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जलविद्युत् क्षेत्रसँग सम्बन्धित करिब ३५० व्यवसायी तथा लगानीकर्ताको सहभागिता रहेको थियो।

