
सांकेतिक रूपमा प्रयोग गरिएको तस्बीर।
नुवाकोट। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेपछि बेपत्ताको खोजी तथा उद्धार कार्य अझै जारी छ। कतिपय आयोजनाका सुरुङमा मानिस फसेको हुनसक्ने आशंकामा नेपाली सेना, आयोजना कर्मचारी तथा विदेशी उद्धार टोलीले संयुक्त रूपमा खोजी गरिरहेका छन्।
रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना सम्पर्कविहीन रहेको आयोजनाले जनाएको छ। भदौ १० गतेदेखि नै उद्धार प्रयास सुरू गरिए पनि बाढीले सडक तथा संरचना क्षतिग्रस्त बनाउँदा उपकरण पुर्याउन समस्या भएको थियो। आयोजनाबाट दुई जनाको शव फेला परेको र चार जनाको जीवितै उद्धार गरिएको छ। सेनाले सुरुङभित्र करिब २७५ मिटरसम्म पुगेर खोजी गरेको थियो।
लाङटाङ खोला जलविद्युत् आयोजनामा भदौ १३ गतेदेखि प्रत्यक्ष उद्धार प्रयास सुरू भएको थियो। भारतीय सेनासँगको सहकार्यमा सुरुङभित्र प्रवेश गर्दा ठूला चट्टान भेटिएका थिए। सहायक सुरुङमा प्वाल बनाएर खोजी गर्दा तीन जनाको शव फेला परेको थियो। थप मानिसको खोजी जारी छ।
चिलिमे जलविद्युत् आयोजनामा पनि भदौ १० गतेदेखि उद्धार सुरू भएको थियो। भारतीय विशेषज्ञ टोलीसमेत परिचालन गरिएको छ। बाढीले आयोजनाका बाहिरी संरचना बगाएपछि मुख्य सुरुङसम्म पुग्न कठिन भएको थियो। हाल सुरुङभित्र करिब १०० मिटरसम्म पुगेर खोजी भइरहेको छ। आयोजनाबाट दुई जनाको शव फेला परेको छ।
माथिल्लो त्रिशूली-१ मा सबैभन्दा ठूलो संख्यामा मानिस कार्यरत थिए। आयोजनाका अनुसार करिब ५०० जना सुरुङका विभिन्न भागमा रहेको हुनसक्ने आशंका गरिएको छ। सेनाले सुरुमा २५४ जनाको उद्धार गरेको थियो। सुरुङबाट एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको छ भने केही शवसमेत फेला परेका छन्। अहिले नेपाली सेनाको नेतृत्वमा कोरियन र चिनियाँ विशेषज्ञ टोलीले खोजी गरिरहेको छ।
त्रिशूली-३ ए मा सुरुमा ४२ जना सम्पर्कविहीन रहेकोमा दुई जनाको जीवितै उद्धार र एक जनाको शव फेला परेको छ। सुरुङको प्रवेशद्वार पत्ता लगाउनै कठिन भएपछि सेनाले नेपाल विद्युत् प्राधिकरणको नक्सा तथा विभिन्न उपकरणको सहयोगमा खोजी अघि बढाएको थियो। हाल आयोजनास्थलमा छ ओटा एक्साभेटर प्रयोग भइरहेको छ।
त्रिशूली-३ बी को सुरुङबाहेक अधिकांश संरचना बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। आयोजनामा ४० भन्दा बढी कर्मचारी पुरिएको आशंका गरिएको छ। नेपाली सेनाको ८९ जना दक्ष जनशक्ति, जेनेरेटर, कम्प्रेसर तथा अन्य उपकरण प्रयोग गरी खोजी भइरहेको छ। दलदल हटाउँदै अडिट सुरुङभित्र करिब १.७ किलोमिटर प्रवेश गरिएको र त्यहाँ एउटा गाडी फेला परेको सेनाले जनाएको छ।
बाढीबाट प्रभावित आयोजनामा उद्धारका लागि उपकरण ढुवानी, सुरुङको प्रवेशद्वार खुलाउने, दलदल तथा लेदो हटाउने र सुरुङभित्र सुरक्षित रूपमा प्रवेश गर्ने काम मुख्य चुनौती बनेको छ। सेनाले सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म खोजी जारी राख्ने जनाएको छ।
