Nepal Purbadhar

जापानी सवारी उद्योगमा मध्यपूर्व द्वन्द्वको असर, टोयोटाको निर्यात ९१.७ प्रतिशतले घट्यो


टोकियो। मध्यपूर्वमा जारी क्षेत्रीय द्वन्द्वका कारण जापानी सवारी उद्योग प्रभावित बनेको छ। टोयोटा कम्पनीको जापानबाट मध्यपूर्वतर्फ हुने निर्यात अप्रिल महिनामा ९१.७ प्रतिशतले घटेको छ। कम्पनीका अनुसार उक्त अवधिमा केवल २ हजार ४१८ युनिट मात्र निर्यात भएको छ।

कम्पनीले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अप्रिलमा टोयोटाको विश्वव्यापी बिक्री ३.१ प्रतिशतले घटेर ८ लाख ४९ हजार ३०६ सवारीसाधनमा सीमित भएको छ। यससँगै लगातार तेस्रो महिनासम्म बिक्री घट्ने क्रम जारी रहेको कम्पनीले जनाएको छ।

तर, सोही अवधिमा विश्वव्यापी उत्पादन भने २ प्रतिशतले वृद्धि भई ८ लाख ३१ हजार ९७१ युनिट पुगेको छ, जुन अप्रिल महिनाका लागि अहिलेसम्मकै उच्च उत्पादन भएको कम्पनीको दाबी छ।

विदेशी बजारमा टोयोटाको बिक्री ७.५ प्रतिशतले घटेर ६ लाख ९९ हजार ३८२ युनिटमा झरेको छ। अमेरिकामा बिक्री ४.६ प्रतिशतले घटेर २ लाख २२ हजार ३७८ युनिटमा पुगेको छ भने मध्यपूर्व बजारमा बिक्री ३३.७ प्रतिशतले घटेर ३१ हजार ३६० युनिटमा सीमित भएको छ।

जापानभित्र भने घरेलु बिक्री २४.२ प्रतिशतले वृद्धि भई १ लाख ४९ हजार ९२४ युनिट पुगेको कम्पनीले जनाएको छ। मार्च अन्त्यमा वातावरणीय प्रदर्शन कर हटाइने घोषणा भएपछि खरिद रोकिएका उपभोक्ताहरू पुनः बजारमा फर्किएसँगै बिक्री बढेको बताइएको छ।

उत्पादनतर्फ, टोयोटाको विदेशी उत्पादन ३.८ प्रतिशतले वृद्धि भई ५ लाख ६७ हजार ५७८ युनिट पुगेको छ भने जापानभित्रको उत्पादन १.७ प्रतिशतले घटेर २ लाख ६४ हजार ३९३ युनिटमा झरेको छ।


Read Previous

सिँचाइ सुविधा १५ लाख ९० हजार हेक्टरमा विस्तार

Read Next

निर्माणाधीन माथिल्लो त्रिशुली–१ अन्तिम चरणमा, वेयरगेट सञ्चालनमा आयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar