Nepal Purbadhar

स्वास्थ्य बीमा बोर्डद्वारा ‘सुविधा थैली’को दररेट परिमार्जन, जेठ १६ देखि लागू हुने


काठमाडौँ। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचारसम्बन्धी ‘सुविधा थैली’को दररेट परिमार्जन गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि पहिलो पटक बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशाला परीक्षणको शुल्कमा परिवर्तन गरेको हो।

बोर्डका अनुसार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई नयाँ परिमार्जित दरअनुसार सेवा शुल्क लागू गर्न निर्देशन दिइएको छ। नयाँ दररेट यही जेठ १६ गतेदेखि कार्यान्वयनमा आउनेछ।

विगत १० वर्षको दाबी भुक्तानी, सेवा उपयोगसम्बन्धी तथ्याङ्क, विभिन्न स्वास्थ्य संस्थाबाट प्राप्त दररेट, चिकित्सकीय सान्दर्भिकता, लागत प्रभावकारिता, रोगभार तथा स्वास्थ्य प्रणालीको वित्तीय दिगोपनलाई आधार बनाएर सुविधा थैली परिमार्जन गरिएको छ।

स्वास्थ्य बीमा बोर्डको वित्तीय अवस्था, दायित्व र स्वास्थ्य सेवा उपयोगको दरलाई ध्यानमा राखेर नयाँ दररेट निर्धारण गरिएको तथा बोर्डमा बढ्दो आर्थिक चाप कम गर्न सुविधा थैली पुनरावलोकन गरिएको हो।

नयाँ व्यवस्थाअनुसार औषधिको दररेट औषधि व्यवस्था विभाग, प्रयोगशाला परीक्षणको शुल्क राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा स्वास्थ्य सेवाको दर सरकारी अस्पतालको आधारमा निर्धारण गरिएको छ।

नयाँ सुविधा थैलीमा आमा सुरक्षा कार्यक्रमजस्ता दोहोरिएका कार्यक्रम हटाइएको छ। साथै प्रयोगमा नआएका केही औषधिसमेत सूचीबाट हटाइएको छ।

नयाँ व्यवस्थाअनुसार अब स्वास्थ्य बीमा कार्यक्रममार्फत एक हजार १७० प्रकारका औषधि उपलब्ध हुनेछन्। यसअघि बोर्डले एक हजार २८९ प्रकारका औषधि उपलब्ध गराउँदै आएको थियो।


Read Previous

ऊर्जा क्षेत्र सुधार र प्रसारण पूर्वाधार विस्तारमा सरकारको जोड

Read Next

काठमाडौं महानगरपालिकाको रोहवरमा बुद्ध दर्शन सहकारीद्वारा ३४ बचतकर्ताको रकम फिर्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar