
सुर्खेत। पश्चिम जाजरकोटमा कर्णाली प्रदेश सरकारको लगानीमा निर्माण भइरहेका केही पक्की पुल आयोजनाले गति लिन थालेका छन् भने केही आयोजना वर्षौंदेखि अलपत्र परेका छन्।
जाजरकोट–जुम्ला सडकखण्डअन्तर्गत छेडागाड नगरपालिका–१० र ११ बीचको लम्तीखोलामा २५ मिटर लामो पक्की पुल निर्माण सुरु भएको छ। करिब ३ करोड ४२ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको पुलको ठेक्का बजरङ्गा ग्लोरियस एमबिएस जेभी काठमाडौंले लिएको हो। २०८३ वैशाख २ गते सम्झौता भएको उक्त पुल २०८५ वैशाखसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
स्थानीयका अनुसार पुल अभावमा यस क्षेत्रमा हालसम्म सात जनाले ज्यान गुमाइसकेका छन्। पुल बनेपछि पश्चिम जाजरकोटका पालिकासँग सहज सम्पर्क स्थापित हुनेछ।
यस्तै, छेडागाड नगरपालिका–६ सुवानाउली र जुनीचाँदे गाउँपालिका–५ लामातारा जोड्ने छेडाखोलामा ४२.७ मिटर लामो बेलिब्रिज निर्माण सम्पन्न भएको छ। करिब ३ करोड ८२ लाख रुपैयाँ लागतको पुल निर्धारित समयभन्दा अगावै सम्पन्न भएको छ।
त्यसैगरी, शिवालय गाउँपालिका–२ र ८ जोड्ने दुईपीपल सडक पुलको निर्माण पनि सुरु भएको छ। करिब ३ करोड १५ लाख रुपैयाँ लागतको उक्त पुल २०८५ वैशाखसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
तर, सबै आयोजना भने अघि बढ्न सकेका छैनन्। छेडाचाँदे–जुम्ला सडकखण्डअन्तर्गत साल्मा खोलामा निर्माणाधीन पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ। छेडागाड नगरपालिका–१ र ४ जोड्ने उक्त पुलको ठेक्का २०७८ सालमा नेपाल मेघा सिस्ने जेभी नेपालगन्जले लिएको थियो। करिब ४ करोड ८८ लाख रुपैयाँ लागतको पुल निर्माणमा दुई वटा पिलर बनाएपछि काम रोकिएको हो।
पूर्वाधार विकास कार्यालय जाजरकोटका अनुसार ठेक्का तोडिएपछि निर्माण कम्पनी अदालत गएको छ।
साल्मा खोलामा पुल नबन्दा जुनीचाँदे, कुसे र छेडागाडका बासिन्दाले यातायातमा सास्ती भोग्दै आएका छन्। बर्खायाममा खोलो तरेर यात्रा गर्नुपर्ने बाध्यता अझै कायम रहेको स्थानीयको गुनासो छ।
स्थानीयले वर्षौंदेखि अलपत्र आयोजना पूरा गर्न सरोकारवाला निकायले प्रभावकारी पहल गर्नुपर्ने माग गरेका छन्।
