Nepal Purbadhar

युद्धग्रस्त इजरायलमा रोजगारीका लागि जानपाउँ भन्दै राजधानीमा युवाहरूको प्रदर्शन


काठमाडौं । युद्धग्रस्त इजरायलमा रोजगारी प्रक्रिया लामो समयदेखि अन्योलमा पर्दा वैदेशिक रोजगारीको प्रतीक्षामा रहेका नेपाली युवाहरू आन्दोलनमा उत्रिएका छन्।

मंगलबार उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै सरकारले स्पष्ट निर्णय सार्वजनिक गर्न माग गरेका हुन्। वैदेशिक रोजगार विभागले इजरायल रोजगारीको नयाँ प्रक्रिया छिट्टै शुरू हुने बताउँदै आए पनि हालसम्म आधिकारिक सूचना जारी नगरेपछि हजारौं युवाहरू अन्योलमा परेका छन्।

वि.सं. २०८१ मा भएको लकी ड्रमा छनोट हुन नसकेका उम्मेदवारलाई आगामी कोटामा स्वतः समावेश गरिने आश्वासन विभागले पटक–पटक दिएको थियो। यही आधारमा धेरै युवाले नयाँ आवेदन प्रक्रिया नपर्खी पुरानै प्रक्रियाबाट अवसर पाउने अपेक्षा गरेका थिए।

तर लामो समयसम्म कुनै ठोस निर्णय नआएपछि उनीहरू निराश बनेका छन्। उम्मेदवारहरूले आफूहरूलाई पुनः नयाँ लकी ड्र प्रक्रियामा सहभागी गराउनु अन्यायपूर्ण हुने बताएका छन्। दुई वर्षदेखि सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रतीक्षामा बसेकाहरूलाई फेरि प्रारम्भिक चरणबाट प्रक्रिया थाल्न लगाउनु मानसिक र आर्थिक रूपमा बोझ हुने उनीहरूको भनाइ छ।

आफ्ना माग सम्बोधन गराउन युवाहरूले वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयमा डेलीगेसन जाने तथा ज्ञापनपत्र बुझाउने कार्य गर्दै आएका छन्।

यसबीच इजरायलका लागि करिब २ हजार ३०० नयाँ कोटा खुल्ने तयारी भइरहेको र पुराना उम्मेदवारले समेत नयाँ लकी ड्रमा सहभागी हुनुपर्ने समाचार सार्वजनिक भएपछि असन्तुष्टि थप बढेको हो।

प्रदर्शनकारीहरूले पुराना उम्मेदवारका लागि छुट्टै कोटा सुरक्षित गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले योग्य उम्मेदवारको हक सुनिश्चित नगरी नयाँ प्रतिस्पर्धामा धकेलिनु राज्यको गैरजिम्मेवार कदम भएको बताएका छन्।

पीडित युवाहरूले नेपाल सरकार र सम्बन्धित मन्त्रालयलाई गम्भीर बन्न आग्रह गर्दै पुराना उम्मेदवारको अधिकार सुरक्षित हुने गरी तत्काल स्पष्ट निर्णय सार्वजनिक गर्न माग गरेका छन्।

तस्बीरहरू : नेपाल फोटो लाइब्रेरी


Read Previous

खानीडाँडा–थामखर्क सडक कालोपत्र शुरू, ३० करोड लागत, ११ महिनामा सक्ने लक्ष्य

Read Next

प्रहरी महानिरीक्षक र एपीजी प्रतिनिधिबीच भेट, ‘ग्रे लिस्ट’बाट बाहिरिने उपायबारे छलफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar