Nepal Purbadhar

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार


भेनेजुएला। भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि भग्नावशेषमा आठ दिनसम्म पुरिएका ४३ वर्षीय हेर्नान गिलको सकुशल उद्धार गरिएको छ। उद्धारपछि उनलाई शरीरमा पानीको मात्रा कम भएको र मनोवैज्ञानिक असर पर्न सक्ने आशंकाका कारण तत्काल स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

गिलको जीवित उद्धार भएपछि उद्धारकर्मी र आफन्तहरूले खुसीयाली मनाएका छन्। भूकम्प गएको एक सातापछि भग्नावशेषबाट कसैलाई जीवित निकालिनु दुर्लभ र चमत्कारपूर्ण घटना मानिन्छ।

उद्धारकर्मीका अनुसार गिल जुन २४ मा गएको ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पका क्रममा काटिया ला मारस्थित साततले भवन भत्किँदा त्यसको भग्नावशेषमा पुरिएका थिए।

उद्धार अभियानमा भेनेजुएला, चिली, संयुक्त राज्य अमेरिका, पोर्चुगल, कोस्टारिका, एल साल्भाडोर र मेक्सिकोका टोली सहभागी थिए। तीन दिनसम्म निरन्तर भग्नावशेष हटाउँदै उनीहरू गिलसम्म पुगेका थिए। उद्धारका क्रममा पाइपमार्फत पानी र अक्सिजन उपलब्ध गराइएको थियो।

अन्तिम चरणमा दुई उद्धारकर्ताले करिब तीन मिटर लामो सुरुङ खनेपछि भवनको पार्किङ क्षेत्रमा जम्मा भएका करिब ३० जनाको सहयोगमा भग्नावशेष हटाएर गिलको उद्धार गरिएको थियो।

चिलीको उद्धार टोलीका प्रमुख क्रिस्टियन भेराले पीडितसम्म पुग्न निकै कठिन भएको बताए। गिलकी श्रीमती गुस्बिमार गोनजालेजले भने उनको जीवित उद्धारलाई चमत्कारको संज्ञा दिएकी छन्।

यसअघि मङ्गलबार पनि भूकम्प गएको छ दिनपछि तीन वर्षीय एक बालकलाई जीवित उद्धार गरिएको थियो। यद्यपि समय बित्दै जाँदा अझै बेपत्ता रहेका मानिसलाई जीवित भेटिने सम्भावना कमजोर हुँदै गएको उद्धारकर्मीहरूले बताएका छन्। अहिले उद्धारसँगै बाँचेकाहरूको राहत र पुनर्स्थापनामा ध्यान केन्द्रित गरिएको छ।

बिहीबारसम्म भूकम्पमा मृत्यु हुनेको आधिकारिक सङ्ख्या दुई हजार ३०० पुगेको छ भने ११ हजारभन्दा बढी घाइते भएका छन्। करिब १३ हजार मानिस घरबारविहीन बनेका छन् र अझै ठूलो सङ्ख्यामा मानिस बेपत्ता छन्।

धेरै प्रभावित परिवार सडक, पार्क र खुला स्थानमा टेन्ट बनाएर बसिरहेका छन्। प्रभावित क्षेत्रमा खाद्यान्न, पिउने पानी र स्वास्थ्य सेवाको अभाव देखिन थालेको छ भने अस्पतालहरू सीमित क्षमतामा सञ्चालन भइरहेका छन्। विज्ञहरूले संक्रामक रोग फैलिन सक्ने जोखिमबारे चेतावनी दिएका छन्।

सबैभन्दा बढी प्रभावित ला गुएरा क्षेत्रमा अधिकांश भत्किएका भवनबाट जीवित व्यक्तिको सम्भावना नरहेको संकेत गर्दै उद्धार टोलीले चिन्ह लगाउन थालेका छन्। अहिले धेरैजसो प्रयास भग्नावशेषबाट शव निकाल्ने र राहत वितरणमा केन्द्रित छन्।

विश्व खाद्य कार्यक्रमले भेनेजुएलामा आगामी तीन महिनासम्म पाँच लाख प्रभावितलाई खाद्य सहायता उपलब्ध गराउन पाँच करोड अमेरिकी डलर सहयोगको अपिल गरेको छ।

भूकम्पपछि खाद्यान्न र आश्रयको अभावका कारण केही क्षेत्रमा लुटपाटका घटना पनि भएका छन्। सुरक्षा अवस्था नियन्त्रणमा राख्न प्रहरी र सेना परिचालन गरिएको छ भने सहायता प्राप्त गर्न सर्वसाधारणको लाम दिनप्रतिदिन बढिरहेको छ।


Read Previous

एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण नेपाली बजारमा सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar