
पोखरा। एलजी इलेक्ट्रोनिक्सले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्समार्फत नेपाली बजारमा ‘एलजी एसेन्सियल सिरिज’ नामक नयाँ घरेलु उपकरण श्रृंखला सार्वजनिक गरेको छ।
पोखरास्थित टेम्पल बेल होटलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको यो श्रृंखला नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर विकास गरिएको कम्पनीले जनाएको छ। ‘हरेक घरको खुशी, घर-घरमा एलजी’ अभियानअन्तर्गत ल्याइएको यस श्रृंखलामा आधुनिक प्रविधि, ऊर्जा दक्षता, टिकाउपन र किफायती मूल्यलाई प्राथमिकता दिइएको कम्पनीको भनाइ छ।
नयाँ श्रृंखलाअन्तर्गत नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल-डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन र रुम एयर कन्डिसनर सार्वजनिक गरिएको छ।
कम्पनीका अनुसार डबल-डोर रेफ्रिजेरेटरमा फ्रस्ट-फ्री प्रविधि, स्मार्ट मोड र अघिल्ला मोडेलको तुलनामा २० प्रतिशत बढी तरकारी भण्डारण क्षमता रहेको छ।
त्यसैगरी, फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिनमा प्रोशील्ड मोटर, बीएमसी कभर, आईपीएक्स-४ प्रमाणित वाटर-रेजिस्टेन्ट कन्ट्रोल प्यानल तथा कम पानीको चापमा पनि प्रभावकारी धुलाई गर्न सक्ने ‘लो-प्रेसर फिल’ प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ।
नयाँ रुम एयर कन्डिसनरमा ऊर्जा दक्ष कुलिङ र हिटिङ सुविधा, वातावरणमैत्री आर-३२ रेफ्रिजरेन्ट तथा कम ध्वनिमा सञ्चालन हुने प्रविधि प्रयोग गरिएको कम्पनीको दाबी छ। यसले परम्परागत नन-इनभर्टर एयर कन्डिसनरको तुलनामा कम विद्युत् खपत गर्ने जनाइएको छ।
कम्पनीका अनुसार एलजी एसेन्सियल सिरिजका उत्पादनहरूको बिक्री वितरण नेपालभर जुन २०२६ देखि शुरू हुनेछ। प्रारम्भिक मोडेलको मूल्य करिब ४९ हजार ६९० रुपैयाँबाट शुरू हुने जनाइएको छ। यी उत्पादन आधिकारिक एलजी ब्रान्ड शप, मल्टिब्रान्ड रिटेल आउटलेट तथा प्रमुख ई-कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।
सीजी इलेक्ट्रोनिक्स सीजी कर्प ग्लोबलअन्तर्गत नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक हो। कम्पनीले एलजी इलेक्ट्रोनिक्ससँग चार दशकभन्दा लामो समयदेखि सहकार्य गर्दै आएको जनाएको छ।

