Nepal Purbadhar

नेपाली लिपिमा आधारित डोमेन र ईमेल प्रवर्द्धन गर्न ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६’ सम्पन्न


काठमाडौं । नेपाली भाषा तथा देवनागरी लिपिमा आधारित डोमेन नेम र ईमेल प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६: पायोनियरिङ यूए रेडी प्लेटफर्म’ कार्यक्रम सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजना तथा आईक्यान र युनेस्को सहकार्यमा शनिबार काठमाडौंमा कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ तथा विश्वव्यापी सर्वस्वीकार्यता (युए) दिवसको अवसरमा आयोजित कार्यक्रममा इन्टरनेटलाई सबैका लागि समावेशी, पहुँचयोग्य र बहुभाषिक बनाउने विषयमा विशेष जोड दिइएको थियो । कार्यक्रममा नेपाली भाषा र देवनागरी लिपिमा आधारित डोमेन तथा ईमेल एड्रेसलाई इन्टरनेटका सबै प्रणालीले सहज रूपमा स्वीकार गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा सरोकारवालाहरूले धारणा राखेका थिए ।

उद्घाटन समारोहमा क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले ह्याकाथन केवल प्रतिस्पर्धात्मक कार्यक्रम नभई नेपालको डिजिटल पूर्वाधारलाई बहुभाषिक र समावेशी बनाउने ऐतिहासिक अभियान भएको बताइन् । महासंघका संस्थापक अध्यक्ष डा. विमल कुमार शर्माले ‘युनिभर्सल एक्सेप्टेन्स’ ले प्रविधिलाई ग्रामीण तथा भुइँतहका नागरिकसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक ई. रोजा किरण बासुकलाले डिजिटल नेपाल फ्रेमवर्क सफल बनाउन यस्ता प्राविधिक रूपान्तरण अपरिहार्य रहेको बताइन् । युनेस्कोका नेपाल प्रतिनिधि जाको दु तोइले मातृभाषामा प्रविधिको प्रयोगले नागरिकलाई सशक्त बनाउनुका साथै पहिचान संरक्षणमा सहयोग पुर्‍याउने धारणा राखेका थिए।

त्यस्तै, आईक्यानका उपाध्यक्ष समिरन गुप्ताले विश्वव्यापी इन्टरनेट प्रणालीमा ‘युनिभर्सल एक्सेप्टेन्स’ को रणनीतिक महत्त्वबारे प्रकाश पार्दै आफ्नै भाषा र लिपिमा इन्टरनेट प्रयोग गर्न पाउनु प्रत्येक नागरिकको अधिकार भएको बताए । उनले यसले मात्र डिजिटल खाडल कम गर्न सहयोग पुग्ने उल्लेख गरे।

कार्यक्रमको प्राविधिक विधातर्फ ‘टिम एभरेष्ट’ र गैर–प्राविधिक विधातर्फ अमरेश शाह, विजय रेग्मी, दक्षिणा पाण्डे र कुमकुम सर्राफको टोली प्रथम भएको छ । निराजन पराजुली, एन्जेला न्यौपाने, रौनक रेग्मी, भुवन जोशी, आवरण ढुङ्गाना र बिनी चन्द सम्मिलित टोलीले देवनागरी लिपिमा आधारित ईमेल ठेगाना सिर्जना तथा प्रयोग गर्न सकिने अत्याधुनिक प्रणाली विकास गरेको थियो । उक्त परियोजनाले अन्तर्राष्ट्रियकृत डोमेन नेम (आईडीएन) र ईमेल अन्तर्राष्ट्रियकरणको महत्वलाई उजागर गर्दै नेपाली भाषालाई डिजिटल प्लेटफर्ममा सहज रूपमा प्रयोग गर्न सकिने सम्भावना प्रस्तुत गरेको छ ।

गैर–प्राविधिक विधातर्फ टोलीले नेपालमा ‘युनिभर्सल एक्सेप्टेन्स’ अवधारणालाई तल्लो तहसम्म विस्तार गर्न नीतिगत तथा चेतनामूलक योजनाको उत्कृष्ट खाका प्रस्तुत गरेको थियो ।

कार्यक्रममा सूचना प्रविधि क्षेत्रका विज्ञहरूले विभिन्न कार्यपत्र प्रस्तुत गर्दै नेपाली लिपिमा आधारित इन्टरनेट प्रणालीका चुनौती र अवसरबारे छलफल गरेका थिए । इन्टरनेटमा अंग्रेजी भाषाको वर्चस्व रहेको अवस्थामा नेपाली जस्ता स्थानीय भाषामा ईमेल तथा वेबसाइट सञ्चालन गर्न सकिने ‘यूए-रेडी’ डिजिटल प्लेटफर्म विकासलाई मुख्य प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।

क्यान महासंघले यसअघि नै नेपालको पहिलो अन्तर्राष्ट्रियकृत डोमेन नेम (आईडीएन) अन्तर्गत नेपाली लिपिमा आधारित आफ्नो आधिकारिक पोर्टल ‘क्यान.संगठन’ सञ्चालनमा ल्याइसकेको छ । कार्यक्रममा देशभरका सफ्टवेयर डेभलपर, प्राविधिक विद्यार्थी, अनुसन्धानकर्ता तथा प्रविधिप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक उदिप बरालले यस्ता बहुभाषिक प्रविधि अभियानले नेपालको डिजिटल समावेशीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।


Read Previous

पूर्वाधार इजलास तथा न्यायाधिकरण गठनको तयारी तीव्र, कानुन मस्यौदाको काम शुरू

Read Next

‘नेपाल टेक रोडशो यूएसए २०२६’ सम्पन्न, नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar