Nepal Purbadhar

मूल्यवृद्धिले संकटमा निर्माण क्षेत्र, व्यवसायीद्वारा विभागमा धर्ना


काठमाडौं । निर्माण सामग्री, इन्धन, ढुवानी तथा श्रमिक खर्चमा भएको तीव्र मूल्यवृद्धिका कारण निर्माण क्षेत्र संकटमा परेको भन्दै निर्माण व्यवसायीहरूले सरकारसँग तत्काल मूल्य समायोजनको माग गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले सोमबार खानेपानी तथा ढल व्यवस्थापन विभाग र सहरी विकास तथा भवन निर्माण विभागमा धर्ना दिएको हो । महासंघअन्तर्गतको एसोसिएट सदस्य समन्वय समितिले दुवै विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाउँदै आधा घण्टा धर्ना कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

समितिका संयोजक नवराज श्रेष्ठले पछिल्लो समय इन्धन र निर्माण सामग्रीको मूल्य निरन्तर बढ्दा निर्माण उद्योग गम्भीर दबाबमा परेको बताए छन् । उनका अनुसार लागत अत्यधिक बढेका कारण धेरै निर्माण आयोजना प्रभावित भएका छन् भने केही आयोजना ठप्प हुने अवस्थामा पुगेका छन् ।

निर्माण व्यवसायीहरूले पुरानै दररेटमा काम गर्नुपर्दा ठूलो आर्थिक भार परेको भन्दै सरकारले तत्काल मूल्य समायोजन गरी राहत दिनुपर्ने माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै दुवै विभागका महानिर्देशकहरूले निर्माण क्षेत्रले भोगिरहेको समस्या गम्भीर रहेको तथा समस्या समाधानका लागि पहल भइरहेको बताएको महासंघले जनाएको छ। महानिर्देशकहरूले व्यवसायीहरूलाई राहत महसुस हुने गरी छिट्टै उपयुक्त निर्णय गरिने बताएका छन् ।

महासंघका अनुसार मध्यपूर्वमा जारी युद्धका कारण इन्धन र निर्माण सामग्रीको मूल्य बढिरहेको छ, जसको प्रत्यक्ष असर नेपालका निर्माण आयोजनामा परेको छ ।


Read Previous

शर्माको नियुक्ति सिफारिस विरुद्धको रिट दर्ता गर्न सपना प्रधानको आदेश

Read Next

पूर्वाधार इजलास तथा न्यायाधिकरण गठनको तयारी तीव्र, कानुन मस्यौदाको काम शुरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar