
काठमाडौं । उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन–२०८२ को परिणाम, अनुभव र आगामी राजनीतिक कार्यदिशाबारे समीक्षा गरेको छ। पार्टीले फागुन २९ र ३० गते केन्द्रीय कार्यालयमा दुई दिनसम्म विशेष समीक्षा बैठक आयोजना गरेको जनाएको छ।
पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय समिति सदस्य, प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार, प्रदेश तथा जिल्ला संयोजक लगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरू सहभागी थिए।
बैठकको पहिलो दिन उम्मेदवार तथा प्रदेश–जिल्ला संयोजकहरूले निर्वाचनका क्रममा प्राप्त अनुभव, जनसम्पर्कको अवस्था, मतदाताको मनोविज्ञान, प्रचार–प्रसारका चुनौती र संगठन विस्तारका सम्भावनाबारे समीक्षा गरेका थिए। सीमित समय र स्रोतसाधनका बाबजुद पार्टीले देशभरबाट प्राप्त गरेको मतलाई सकारात्मक आधारका रूपमा लिइएको सहभागीहरूले बताएका छन्।
दोस्रो दिन केन्द्रीय समिति सदस्यहरूबीच भएको छलफलमा पार्टीलाई आगामी दिनमा संगठनात्मक रूपमा सुदृढ बनाउँदै वैचारिक स्पष्टता र जनतासँग प्रत्यक्ष जोडिने राष्ट्रिय राजनीतिक शक्तिका रूपमा विकास गर्ने निष्कर्ष निकालिएको पार्टीले जनाएको छ। बैठकले सचिवालय, विभाग, आयोग, सल्लाहकार समिति, प्रवास समिति तथा प्रदेशदेखि स्थानीय तहसम्मका संरचनालाई व्यवस्थित र कार्यमुखी बनाउने विषयमा जोड दिएको छ।
यसक्रममा प्रशिक्षण कार्यक्रम सञ्चालन, डिजिटल उपस्थिति विस्तार, मिडिया परिचालन, युवा तथा महिला सहभागिता वृद्धि, सदस्यता विस्तार र आर्थिक सुदृढीकरणजस्ता विषयलाई प्राथमिकतामा राख्ने सहमति भएको जनाइएको छ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले निर्वाचनबाट प्राप्त मतलाई हारको रूपमा नभई आगामी राजनीतिक यात्राको आधारका रूपमा लिनुपर्ने बताएका छन्। उनले संगठन विस्तार, सदस्यता अभिवृद्धि, डिजिटल अभियान र स्थानीय स्तरमा जनसम्पर्क बढाउने कार्यलाई तीव्रता दिने बताए।
पार्टीले निर्वाचनमा सहयोग गर्ने मतदाता, उम्मेदवार, नेता–कार्यकर्ता र समर्थकहरूप्रति धन्यवाद व्यक्त गरेको छ। साथै निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेलेको सरकारप्रति आभार व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्राप्त सफलताका लागि बधाई तथा आगामी सरकारलाई सफल कार्यकालको शुभकामना दिएको पनि जनाएको छ।
