
काठमाडौं । नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले ऊर्जा सुरक्षाका लागि ब्याट्री र पम्प स्टोरेज आयोजना चाहिने बताएका छन् ।
उनले नेपालको ऊर्जा प्रणालीमा एकै स्रोतको अत्यधिक निर्भरता जोखिमपूर्ण बन्दै गएको भन्दै विद्युत् भण्डारण (स्टोरेज) प्रणालीलाई समयमै प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएका छन् । सन् २०२१ मा भारतबाट आयात हुने विद्युत् एक्कासि रोकिँदा देखिएको संकटले नेपालजस्ता मुलुकलाई गम्भीर पाठ सिकाएको उनको भनाइ छ ।
शाक्यका अनुसार भारतले एक दिनको सूचनामै करिब ४०६ घण्टासम्म विद्युत् आपूर्ति नहुने जानकारी दिएपछि प्रणालीमा ठूलो अन्योल सिर्जना भएको थियो । “त्यो बेला करिब ६ सय मेगावाटभन्दा बढी विद्युत् आयात प्रणालीबाट हट्ने अवस्था आयो, जबकि समग्र प्रणाली करिब एक हजार मेगावाटमा चलिरहेको थियो,” उनले भने, “अन्य स्रोतबाट तत्काल व्यवस्थापन सम्भव थिएन, जसले ठूलो दबाब सिर्जना गर्यो।”
उक्त घटनापछि विद्युत् भण्डारणको आवश्यकता स्पष्ट भएको उनले बताए । पम्प स्टोरेज र ब्याट्री स्टोरेज प्रणाली एक–अर्काका परिपूरक हुन सक्ने भन्दै १ घण्टाभन्दा कमदेखि ४–६ घण्टासम्मको माग व्यवस्थापनका लागि यी विकल्प प्रभावकारी हुने उनको भनाइ छ ।

“जलाशययुक्त आयोजना दीर्घकालीन रूपमा उपयुक्त भए पनि त्यसका आफ्नै लागत, पुँजी र समयसम्बन्धी चुनौती छन्,” उनले भने, “२०१०–११ तिर सुरु भएका कतिपय आयोजना अझै सम्पन्न हुन नसकेको अवस्था छ । त्यसैले अब विद्युत् भण्डारण स्रोतलाई मूल्य दिन ढिलो गर्नु हुँदैन।”

उनका अनुसार सौर्य ऊर्जा र रन–अफ–रिभर जलविद्युत् आयोजनाको संयोजन पनि छोटो समयका लागि प्रभावकारी समाधान हुन सक्छ । तर एउटै स्रोतमा निर्भर रहँदा प्रणाली झन असुरक्षित बन्ने चेतावनी उनले दिए । सोही कारण रन अफ रिभर आयोजनाको मात्रै बढाउन नहुने उनको तर्क छ ।
ऊर्जा परिदृश्य तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै उनले सौर्य ऊर्जा अब विकल्प नभई यथार्थ भइसकेको बताए । “हामीले चाहे पनि वा नचाहे पनि, सौर्य ऊर्जा यहाँ आइसकेको छ र अझ विस्तार हुँदै जान्छ,” उनले भने, “भारतबाट आउने ऊर्जाको सन्दर्भमा पनि हामी तयार रहनुपर्छ र यससँग कसरी सहअस्तित्व कायम गर्ने भन्ने विषयमा स्पष्ट रणनीति आवश्यक छ।”
ऊर्जा क्षेत्रमा भण्डारण, हाइब्रिड समाधान र स्रोत विविधीकरणबारे गम्भीर बहस र नीति निर्णयको समय आएको उनको भनाई छ ।









