
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एसेम्बल उद्योगहरुलाई काटेको छुट बिल पुनर्विचार हुने भएको छ ।
प्राधिकरणले एसेम्बल उद्योगलाई ‘व्यापारिक ग्राहक’ को बिल थमाएको थियो । यस विषयमा प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले कानुन विभागसहित आन्तरिक छलफल गरेर पुनर्विचार गर्न लागेका हुन् । ‘प्राधिकरणको विनियमावलीमा स्पष्ट व्यवस्था नभएका कारण एसेम्बल उद्योगलाई पनि व्यापारिक ग्राहक सरह बिल गएको रहेछ । यस विषयमा हामी आन्तरिक छलफल गर्छौं । कानुनका साथीहरुसंग छलफल गर्छौ,’ उनले भने, ‘एसेम्बल उद्योगहरु उद्योग विभागमा दर्ता भएका छन् । कसरी मिल्छ हामी हेरेर पुनर्विचार गर्नेमा छौं । हामी उद्योगहरुलाई प्राथमिकतामा राख्छौं ।‘
प्राधिकरण स्रोतका अनुसार बाहिरबाट एसेम्बल उद्योगमा पार्टपुर्जाहरु ल्याएर जोड्ने भन्दै व्याख्या गरेर कानुनी विभागसंग छलफल गरेर छुट बिल काटिएको थियो ।
एसेम्बल उद्योगलाई यस अघि औद्योगिक ग्राहकमा राखेर विद्युत महसुल उठाइरहेको प्राधिकरणले व्यापारिक ग्राहक भन्दै एक्कासी बिल पठाएको हो । लक्ष्मी मोटर कर्पोरेसन र एमएडब्लु अटोलाई बिल पठाइएको छ । एमएडब्लु अटोलाई १२ लाख ९७ हजार रुपैयाँ र लक्ष्मी मोटर कर्पोरेशनलाई ९ लाख १२ हजार रुपैयाँको छुट बिल दिएको छ । लक्ष्मी ग्रुपको हुन्डाई ब्राण्डका कारहरु एसेम्बल गर्ने उद्योग छ । त्यसै गरी अरु दर्जनबढी दुईपाङ्ग्रे सवारीसाधनहरु एसेम्बल हुने गर्छ ।


विद्युत प्राधिकरणले १३ वर्गमा विभाजन गरेर ग्राहकहरुसंग महसुल उठाउने गर्छ । सबै ग्राहकको महसुल दर फरक छ । औद्योगिक ग्राहकसंगभन्दा व्यापारिक प्रयोजनको विद्युतको महसुल महँगो छ । सोही कारण छुट बिल जारी गरिएको प्राधिकरणका कर्मचारीहरुको भनाई छ ।
व्यापारिक ग्राहक











