Nepal Purbadhar

थानकोटबाट १० मिनेटमा नौबिसे पुगिने नागढुंगा-नौबिसे सुरुङमार्ग अन्तिम चरणमा पुग्यो, हेर्नुस तस्बिरमा


काठमाडौं । नेपालमा सडक निर्माण तथा विकासको इतिहास गर्ने हो भने राणाकालीन समयदेखि नै सडक निर्माण कार्य सुरु भएको विभिन्न अभिलेखहरु पाइन्छ ।

यस्ता विभिन्न प्रकाशनहरुमा प्रकाशित आलेख अनुसार पहिलोपटक वि.सं. १९९८ मा मानिसले बोकेर सवारीसाधन काठमाडौँ उपत्यकामा ल्याईएको भएतापनि वि.सं. १९८० को दशकबाटै काठमाण्डौं उपत्यकामा पहिलो सडक निर्माण सुरु भएको पाईन्छ ।

त्यस्तै काठमाडौं उपत्यका बाहिर निर्माण भएको पहिलो सडक भने ४२ कि.मि. लामो अमलेखगन्ज – भिमफेदी सडकलाई लिईने गरिएको छ ।

यसरी सडक निर्माण तथा विकासको एक शताब्दी लामो इतिहास भएको नेपाल अब भने इतिहासमै पहिलो पटक सुरुङमार्गको चरणमा प्रवेश गर्दै छ ।

निर्माणको अन्तिम चरणमा रहेको काठमाडौँको नागढुङ्गा र धादिङको सिस्नेखोला सुरुङमार्ग नेपालको सडक निर्माण तथा विकासको इतिहासमा पहिलो सुरुङमार्गको रुपमा रहने छ ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वि.स २०७६ कार्तिक ४ गते शिलान्यास गरी निर्माणको कार्य सुरु गरिएको सो सुरुङमार्गको लगभग निर्माणको कार्य सकिसकेको छ भने अब सञ्चालनको कार्य र कार्यविधि तयार गरी सञ्चालन गर्न मात्र बाँकी रहेको छ ।

सो सुरुङमार्ग आयोजना अन्तर्गत मुख्य र सहायक (ईभ्याकुएसन टनेल) गरी दुई वटा मार्ग रहेका छन् जसमा मुख्य सुरुङमार्गमा सवारी साधन सञ्चालन गरिन्छ भने सहायक सुरुङमार्ग आपतकालिन समयमा प्रयोग गर्ने गरी निर्माण गरिएको हो ।

सो आयोजना अन्तर्गत पूर्वी खण्ड ( काठमाडौं तर्फ) २.५ किमी एप्रोच सडक निमा गरिएको छ भने जड अन्तर्गत बलम्बुमा निर्माण गरिएको ओभरपास अन्तिम चरणमा रहेको छ ।

त्यस्तै पश्चिम खण्ड (सिस्नेखोला तर्फ ) मिचिनीकी अर्थात् रोड साइड स्टेसन निर्माण गरिने भनिएकोमा जग्गा उपलब्ध नहुनाले र विभिन्न कारणले त्यो काम आधिअधुरोमा छोड्नु परेको कोइरालाले जानकारी दिए ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कृष्णा ज्वालाले २०८० साउन २२ गते सहायक सुरुङमार्गको ब्रेक थ्रु गरेका थिए भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले २०८१ वैशाख ३ गते मुख्य सुरुङमार्गमा ब्रेक थ्रु गरेका थिए ।

default

हाजमा कर्पोरेशन जापानले निर्माणको जिम्मा लिएको ६ वर्ष पछि अब भने निर्माण कार्य सकेर नेपाल सरकारलाई यही अक्टोबरको अन्तिममा हस्तान्तरण गर्ने तयारी गरिरहेको कम्पनीका कन्सल्टेन्ट इन्जिनियर रमेश कोइरालाले जानकारी दिए ।

जाइकाको १६ अर्ब सहुलियत ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब गरी जम्मा २२ अर्ब लागतमा सो सुरुङमार्गको निर्माण कार्य सम्पन्न भएको उनले बताए ।

सिस्नेखोलादेखि नागढुङ्गासम्म करिब पौने ३ किमीको दूरी रहेको सो सुरुङमार्ग प्रयोगका लागि साउन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क (ट्रोल ट्याक्स) समेत निर्धारण गरिसकेको छ ।

जस अनुसार कार/भ्यानहरूलाई काठमाडौ आउँदा रु.६५ र काठमाडौँबाट फर्किदा रु. ६० शुल्क लाग्ने छ। मिनी बस र मिनी ट्रकलाई काठमाडौं आउँदा रु. ११५ र काठमाडौँबाट जाँदा रु.८० शुल्क लाग्ने छ। त्यस्तै बस र ट्रकले काठमाडौं आउँदा रु. २६० र काठमाडौँबाट जाँदा रु.२०० शुल्क तिर्नु पर्ने छ। भारी उपकरणले भने काठमाडौं आउँदा रु.६०० र काठमाडौँबाट जाँदा रु.२५० शुल्क तिर्नु पर्ने छ । यस सुरुङमार्गमा दुई पाङ्ग्रे सवारीसाधनले भने प्रवेश गर्न पाउने छैनन् ।

हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको यो सुरुङमार्ग आगामी पुस–माघसम्ममा सञ्चालन ल्याउने तयारी भइरहेको छ । खुला प्रतिस्पर्धाबाट निजी कम्पनीलाई यो सुरुङमार्ग सञ्चालनको जिम्मा दिने तयारी सरकारको छ ।

यो सुरुङमार्ग सञ्चालनमा आएपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ । यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट समय बचत गर्नेछ ।

नयाँ प्रविधिको प्रयोग, सुरुङमा विभिन्न यन्त्रहरू जडान, सुरुङमार्गमा ट्राफिक स्थितिको जानकारीका लागि कन्ट्रोल रूम लगायत हरेक १५० देखि २०० मीटरको दूरीमा सीसी क्यामेरा जडान गरिएको र सवारी साधनबाट निस्कने हानिकारक ग्यासको फिल्टरका लागि र सुरुङमार्गमा अक्सिजनको प्रवाहलाई कायम राख्नका लागि १५ वटा जेट फ्यानको प्रयोग गरिएको छ भने भिजिविलित मीटरको समेत प्रयोग र आपतकालिन सञ्चारका लागि टेलिफोन समेत जडान गरिएको छ ।

default

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी ।


Read Previous

वास्तवमै नम्बर वान अटो शो के हो अब थाहा हुन्छ: नाडा अध्यक्ष चौधरीको अन्तर्वार्ता

Nepal Purbadhar