
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माण पूर्वको अध्ययनलाई जोड दिन आवश्यक रहेको बताएका छन् ।
नेपाल इन्जिनियरिङ काउन्सिलले बिहीबार काठमाडौंमा आयोजना गरेको इन्जिनियरिङ पेसा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिका विषयको कार्यशालामा उनले पूर्वाधार निर्माणको कामलाई दिगो र सुरक्षित बनाउन विशिष्ट अध्ययन र अनुसन्धान जरुरी रहेको बताए ।
नेपालको भौगोलिक धरातलीय विशिष्टता सुहाउँदो विकास मोडेल आवश्यक रहेको जनाउँदै नेपालको भौगोलिक चुनौती खेप्न सक्ने प्रविधिबारे समेत अध्ययन गर्न समेत उनले आग्रह गरे ।
आवश्यक नीति र कानुन निर्माण र संशोधनका लागि सरकार तयार रहेको पनि उनले बताए ।
ठुला राजमार्गहरूको विकास र विस्तार, आधुनिक सुरुङहरूको निर्माण, नेपालको विशिष्ट भू-वनोट सुहाउँदा सुरक्षित सडक लगायतका संरचना निर्माणमा नेपाली इन्जिनियरहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री दाहालले नेपाली इन्जिनियरहरुको शिक्षा र क्षमतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने काम अघि बढ्नुले यस क्षेत्रलाई थप उत्साही बनाएको विश्वास रहेको बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालको पूर्वाधार विकासलाई नयाँ चरणमा पुर्याउन इन्जिनियरीङ क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताए । नेपालको पूर्वाधार क्षेत्र अहिले तीव्र निर्माणको चरणमा भएकाले यस पछि नयाँ चरण सुरु हुने उनको धारणा छ ।
उनले उपयोगबाट आर्थिक समृद्धिलाई अघि बढाउन सकिने पनि बताए । नेपालमा उत्पादित स्तरीय जनशक्तिबाटै पूर्वाधार क्षेत्रलाई आधुनिक दिशातर्फ अघि बढाउन सकिने भन्दै उनले नेपाली ईन्जिनियरहरुको वृत्ति विकास र योगदानलाई महत्वका साथ हेरिएको बताए ।
यस्तै काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले इन्जिनियर र इन्जिनियरी क्षेत्रले विकाशका विभिन्न आयामलाई समेट्ने भएकाले यस क्षेत्रको योगदान नभई आधुनिक विकास सम्भव नहुने बताए ।
कार्यक्रममा इन्जिनियरिङ पेसा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिकाका विभिन्न विषयमा विज्ञहरू सहित छलफल भएको काउन्सिलका रजिस्ट्रार ध्रुवराज भट्टराईले जानकारी दिए ।