
काठमाडौं । नेपालका लागि मोरिस ग्यारेजेस (एमजी) को आधिकारिक बिक्रेता रहेको कम्पनी पारामाउन्ट मोटर्सको व्यापार ४ अर्ब १८ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
२०२४ मा कम्पनीले यति व्यापार गरेको हो ।
यसअघिका वर्षहरुमा हेर्ने हो भने कम्पनीको व्यापार २०२० मा ७९ करोड ४० लाख रुपैायँको थियो । २०२१ मा कम्पनीले ७१ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२२ मा कम्पनीको व्यापारमा बृद्धि भएर ३ अर्ब ४७ करोड रुपैयाँको व्यापार भएको थियो ।
२०२३ मा भने कम्पनीको व्यापार २ अर्ब ७ करोड ६० लाख रुपैयाँ पुगेको थियो ।
कम्पनीको व्यापारमा बृद्धि भएर ४ अर्ब १८ करोड ५० लाख पुगिरहँदा कम्पनीको ओपिबिडिआईटिए (मूल्यह्रास, ब्याज, कर, र अमोर्टाइजेसन घटाउनु अघि कम्पनीको सञ्चालनबाट आएको नाफा) मा भने कमि आएको छ ।
२०२० मा १७.६० प्रतिशत रहेको ओपिबिडिआईटिए २०२१ मा ९.४० प्रतिशत थियो । २०२२ मा १२.६० प्रतिशत र २०२३ मा १०.३० प्रतिशत कायम भएको ओपिबिडिआईटिए २०२४ मा भने ७.८० पुगेको छ ।
२०१६ मा खुलेको पारामाउन्ट मोटर्स प्रालि २०१६ बाट नै नेपालमा एमजीको गाडीको बिक्री गर्दै आएको छ । त्यस्तै, कम्पनीले सन् २०२० बाट जापानको माज्दा मोटर कर्पोरेसनसँग पनि आधिकारिक बितरकका रुपमा सम्झौता गरेको छ । साथै यो कम्पनीले पछिल्लो समय २०२१ मा चीनको एसएआईसी म्याक्सस अटोमोटिभ र २०२४ मा चीनकै वुलिङ कम्पनीसँग सम्झौता गरेको छ ।
नेपालका तीन व्यवसायिक समूह विशाल ग्रुप, मुरारका ग्रुप र सांघाई ग्रुपको संलग्नतामा खुलेको यो कम्पनीमा सबैभन्दा धेरै स्वामित्व ४० प्रतिशत शिरिर कुमार मुरारकाको रहेको छ ।
हालका लागि यो कम्पनीले १ अर्ब ८० करोड रुपैयाँको अल्पकालिन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी ईक्रा नेपालले कम्पनीलाई ए फोर रेटिङ दिएको छ ।