
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानका साथ अवरुद्ध रहेको संसद् बैठक खुलाउन आग्रम गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन वार्ता गरेका छन् ।
गृहमन्त्री लेखकको राजीनामा माग गर्दै मंगलबार संसद् अवरुद्ध भएको थियो । बुधबार संसद बैठकको निर्धारित समय ११ बजे भनिएतापनि अहिलेसम्म संसद बस्न सकेको छैन । माओवादी केन्द्रसहित रास्वपालगायतका प्रमुख प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै राजीनामाको माग गरेर संसद अवरोध गरेका छन् ।
संसदमा प्रतिपक्षी दलहरुले गरेको अवरोध हटाईदिन भन्दै प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन वार्ता भएको हो ।
यता गृहमन्त्रीको राजीनामाको अडान लिएर प्रतिपक्ष बसिरहेतापनि बुधबार प्रधानमन्त्रीसँगको गृहमन्त्रीको भेटमा भने उनको राजीनामाको कुरा नउठेको स्रोतले बताएको छ ।