Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा झोलुङ्गे पुल निर्माण   


म्याग्दी ।  मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । स्थानीयवासी र ताल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर थासाङ गाउँपालिकाले झोलुङ्गे पुल निर्माण गरेको हो ।

थासाङ –२ कोवाङका वडाध्यक्ष गौतम शेरचनले रु ४५ लाख ३२ हजार एक सय छ लागतमा ८३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको जानकारी दिए । “म्हरक्पुं दोङ खोलामा पुल नहुँदा बर्खामा पर्यटक र स्थानीयवासीले जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या थियो”, उनले भने, “पुल बनेपछि सुरक्षित आवतजावतका साथै एउटादेखि अर्को ताल पुग्न लाग्ने समय ३० मिनेटबाट पाँच मिनेटमा छोट्टिएको छ ।”

कोवाङ, खन्ती, नाउरीकोट, ताङछरा, लार्जुङलगायत बस्तीका एक सय ६० घरधुरीका साथै ताल भ्रमणमा आउने पर्यटक पुलबाट लाभान्वित भएका छन् । सेकुङ र भुतर्छो तालको बीचमा म्हरक्पुं खोलाले कटान गरेर बनाएको खाेंचमाथि झोलुङ्गे पुल निर्माण भएको हो ।

स्थानीयवासी विशाल परियारका अनुसार पुल बनेपछि घुमाउँरो बाटोमा खोला तरेर यात्रा गर्नुपर्ने समस्या हटेको छ । पुल निर्माणका लागि स्वाप कार्यक्रमले ३४ लाख ७५ हजार ५ सय १५ रुपैयाँ , गाउँपालिकाले ५ लाख ८९ हजार १ सय ७३ रुपैयाँ, टिबिएसयुले ३ लाख ८६ हजार ७ सय ७४ रुपैयाँ सहयोग र उपभोक्ताले ९० हजार ६ सय ४२ रुपैयाँ बराबरको श्रमदान गरेका वडा कार्यालयले जनाएको छ ।

धवलागिरि र टुकुचे हिमालको फेदीमा रहेको सेकुङ र भुतर्छो ताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । दुईवटै तालको पृष्ठभूमिमा पूर्वतर्फ निलगिरि र पश्चिममा धवलागिरि हिमाल देख्न सकिन्छ । करिब एक सय ५० मिटर लम्बाइ र २० मिटर चौडाइको गोलो आकारको सेकुङ ताल समुद्री सतहबाट दुई हजार सात सय २५ मिटरको उचाइमा अवस्थित छ । ताल परिसरमा चौँरी, भेडाबाख्रा र गाईभैँसीको चरन खर्क छ ।

समुद्री सतहबाट दुई हजार छ सय ८३ मिटरको उचाइमा सल्ला र धुपीका रुख रहेको जङ्गलको बीचमा अवस्थित भुर्छतो तालको लम्बाइ करिब ५ सय मिटर, चौडाइ ५० मिटर र गहिराइ ५ मिटर भएको अनुमान छ । थकाली भाषामा (पुच्छोर) भनेर चिनिने भुर्छतो ताल विभिन्न प्रजातिका हाँस, चरा र रतुवा मृगको बासस्थान क्षेत्र हो । सुक्खा मौसममा यस तालमा पूजाआजा गरेमा वर्षा हुने जनविश्वास छ ।

बेनी–जोमसोम सडकको ताङछरबाट तीन किलोमिटर ५ सय मिटर कच्ची सडकको यात्रापछि पुगिने सेकुङ र भुतर्छो तालमा गाउँपालिकाले पदमार्ग, पर्खाल, सार्वजनिक शौचालयलगायतका पूर्वाधार निर्माण गरेको छ । सेकुङ र भुतर्छो ताल म्हरक्पुं दोङ खोलाको वारिपारि छन् ।


Read Previous

तनहुँकाे मानुङकोटको खानेपानी समस्या समाधान हुँदै   

Read Next

एक सातामा राहुघाट आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ हुँदै, भाैतिक प्रगति ७० प्रतिशत

Leave a Reply

Your email address will not be published.