काठमाडौं । सरकारले जिवछ मण्डललाई विद्युत विकास विभागको महानिर्देशक नियुक्त गरेको छ । ऊर्जा जलस्राेत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उनलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।
लामो समयदेखि ऊर्जा क्षेत्रमा सक्रिय रहँदै आएका मण्डल यसअघि विभागकै उपमहानिर्देशकको जिम्मेवारीमा थिए । उनले विभागको महानिर्देशक नियुक्त भएको पत्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट बुझिसकेका छन् ।
उनी २०५३ सालमा इन्जिनियरकाे रूपमा सरकारी सेवा प्रवेश गरेका थिए । विभागबाटै सेवा सुरु गरेका उनकाे २०७१ साल माघमा सहसचिव पदमा बढुवा भएकाे थियाे ।
उनलाई महानिर्देशक नियुक्त गरेसँगै चिरञ्जिवी चटौत मन्त्रालयमा तानिएका छन् । विभागको महानिर्देशकको जिम्मेवारीमा रही १७ महिना काम गरेका चटौतलाई फेरि मन्त्रालयमै फिर्ता बोलाइएको हो ।
उनी पम्फा भुसाल ऊर्जा मन्त्री भएका बेला २०७९ साल भदाैमा महानिर्देशककाे जिम्मेवारी सम्हाल्न विभाग गएका थिए ।