Nepal Purbadhar

एनआरएनए निर्वाचनः केसी प्यानलबाट सह-कोषाध्यक्षमा अभिमन्यु बस्नेतको उमेद्वारी


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा अभिमन्यु बस्नेतले सह–कोषाध्यक्ष पदमा उमेद्वारी दिएका छन् । क्यानडामा बसोबास गर्दै आएका भक्तपुरका बस्नेतले बद्री केसी प्यानलबाट सह–कोषाध्यक्ष पदमा उमेद्वारी दिएका हुन् ।

बस्नेतलाई कुवेत निवासी जीवन निरौलाले उक्त पदमा उमेद्वारीका लागि प्रस्ताव गरेका हुन् । थाइल्याण्ड निवासी भीमसेन रायमाझी, संयुक्त अरब इमिरेट्स निवासी निराजन खत्री र क्यानडा निवासी सूर्य भट्टराईले उमेद्वारी प्रस्तावको समर्थन गरेका हुन् ।

एनआरएनएलाई स्मार्ट र प्रविधियुक्त बनाई आर्थिक पारदर्शिता कायम गराउन सह–कोषाध्यक्ष पदमा उमेद्वारी दिएको बस्नेतले बताए । आफु सह–कोषाध्यक्ष पदमा निर्वाचित भएमा विश्वमा एनआरएनएको साख बनाउन भूमिका खेल्ने उनको प्रतिबद्धता छ ।

एनआरएनएको ११औं विश्व अधिवेशन मंगलबारबाट सुरु हुँदैछ । यो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदका लागि ५ जना चुनावी प्रतिश्पर्धामा उत्रिँदै छन् ।

विश्वका विभिन्न देशमा बसोबास गर्ने ९६ हजार ८ सय ५० जना नेपाली एनआरएनएमा सूचीकृत छन् ।


Read Previous

बागलुङका स्थानीय तह सडक मर्मत गर्दै

Read Next

खम्बा गाडेको चार वर्षपछि बल्यो बिजुली