Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

ओखलढुङ्गाको ककनीमा सौर्य मिनीग्रीडबाट विद्युतीकरण   


काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग तथा सुनकोशी गाउँपालिकासँगको साझेदारी र स्थानीयवासीको सहभागितामा ओखलढुङ्गाको ककनीमा सौर्य मिनीग्रीड आयोजना सम्पन्न भएको छ । सत्तरी किलोबाट पिक क्षमताको ‘ककनी सौर्य मिनीग्रीड आयोजना’बाट जिल्लाको सुनकोशी गाउँपालिकाको वडा नं ९ स्थित ककनी गाउँका १७१ घरधुरीमा विद्युत् पहुँच पुगेको हाे ।

आयोजनाबाट उत्पादित विद्युत्बाट घरधुरी विद्युतीकरणका साथै विद्यालय, स्वास्थ्यचौकी लगायतका सार्वजनिक संस्थामा विद्युतीकरण एवं यन्त्र उपकरण सञ्चालन तथा धान कुटानी, फर्निचरजस्ता लघुउद्यम सञ्चालनमा समेत सघाउ पुगेको छ । कूल लागत ६ करोड ४२ लाख ८८ हजार रुपैयाँ रहेको आयोजनामा कूल लागतको ९० प्रतिशत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान रहेको छ भने १० प्रतिशत लगानी सुनकोशी गाउँपालिकाको रहेको छ ।

एक समारोहबीच आयोजनाको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले आगामी दुई वर्षभित्र सबैमा विद्युत् पहुँच पुर्‍याउने लक्ष्य हासिल गर्न विद्युतीकरणको अभियानलाई देशैभर अघि बढाइएको बताए ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले आयोजनालाई दिगोरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिंदै आयोजना निर्माणमा संलग्न सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिए ।

आयोजनालाई पाँच वर्षसम्म जडानकर्ता कम्पनीले सञ्चालन एवं मर्मतसम्भार गर्ने र त्यसपछि स्थानीय तहलाई हस्तान्तरण गरिने केन्द्रका सहायक निर्देशक एवं सौर्य तथा वायु ऊर्जा शाखाका प्रमुख डा लक्ष्मणप्रसाद घिमिरेले बताए ।


Read Previous

इयुको सहयोगमा २४ जना बने अन्तराष्ट्रिय स्तरको कफी रोष्टर

Read Next

सामाजिक सञ्जाल नियमन र व्यवस्थापनका लागि परामर्श सुरु   

Leave a Reply

Your email address will not be published.