Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

नेपालको जलविद्युत विकासकाे जग हाल्ने ओड होफ्टुनको निधन


काठमाडौं । नेपालको जलविद्युत विकासलाई अहिलेकाे अवस्थासम्म ल्याइपुर्याउन  सुरुवाती दिनहरूमा महत्त्वपूर्ण योगदान गरेका नर्वेजियन जलविद्युत इन्जिनियर ओड होप्टुनको निधन भएको छ । सन् १९२७ मा नर्वेको अलमा जन्मिएका उनको ९५ वर्षको उमेरमा गत बुधबार निधन भएको हो ।

उनका पिता इरिक होफ्टुन नर्वेमा जलविद्युतगृह सञ्चालक थिए । आमा मार्था हफ्टुन शिक्षिका थिइन् । नर्वेजियन इन्स्टीच्युट अफ टेक्नोलोजीबाट इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरेका उनले नर्वेमै रहँदा जलविद्युत आयोजनाको विद्युतगृहमा काम गर्न सुरु गरेका थिए ।

उनी सन् १९५८ मा ३० वर्षकाे उमेरमा नेपाल आएका थिए । उनी संयुक्त मिसन नेपाल (युएमएन) का लागि पहिलो पटक पाल्पाको तानसेनमा अस्पताल बनाउने काममा इलेक्ट्रिकल इन्जिनियरकोरूपमा आएका थिए ।

उनले पाल्पामा अस्पताल निर्माणका क्रममा नै नेपालमा दक्ष जनशक्तिको अभाव देखेर रुपन्देहीमा मा सन् १९६३ मा बुटवल टेक्निकल इन्स्टिच्युट (बिटिआई) स्थापना गरी व्यावसायिक तालिम केन्द्र बनाए । अहिलेको हाइड्राे ल्याब स्थापना गर्नमा पनि उनको नै  योगदान छ ।

नेपाल बसाईका क्रममा उनी विस्तारै जलविद्युत विकासको काममा पनि सक्रिय भएर लागे । बुटवल पावर कम्पनी (बिपिसी), हिमाल हाइड्रो लिमिटेड र नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड (एनएचई)का संस्थापक नै उनी हुन् । यी कम्पनीको स्थापना गरी उनी नेपालमा जलविद्युतको प्रारम्भिक विकासमा अग्रणी भएर लागेका थिए ।

यसै क्रममा बुटवल क्षेत्रमा विद्युतीकरण गर्ने उद्देश्यले रुपन्देहीको तिनाउ खोलामा १ मेगावाटको जलविद्युत आयोजना निर्माण गरे । उनकै नेतृत्वमा तिनाउ खोलाकाे आयोजना निर्माण भएको थियो । यो आयोजनाको अध्ययन तथा डिजाइनको सम्पूर्ण काम उनले नै गरेका थिए । पाल्पादेखि बुटवलसम्म पैदल आउँदा उनले नै तिनाउ खोला आयोजनाको पहिचान गरेका थिए ।

सुरुमा यो जलविद्युत आयोजना २५० किलोवाट क्षमताका २ वटा उत्पादन युनिट रहने गरी ५ सय किलोवाटमा निर्माण गरिएको थियो । पछि यो आयोजनाको क्षमता विस्तार गरी १ मेगावाट बनाइएको थियो । यो नै नेपालमा निजी लगानीमा बनेको पहिलो जलविद्युत आयोजना थियो । यतिबेलासम्म नेपालमा निजी क्षेत्रले विद्युत आयोजना निर्माण गरी आफैँ सञ्चालन गर्ने नीतिगत व्यवस्था नभएका कारण यो जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणलाई नै सञ्चालन गर्न दिइयो ।

होप्टुनले तिनाउपछि प्युठानमा १२ मेगावाटको झिम्रुक र स्याङ्जामा ९.४ मेगावाटको आँधिखोला जलविद्युत आयोजना निर्माणमा पनि सहयोग पुर्याए । यी जलविद्युत आयोजना नर्वे सरकारले नै लगानी गरी निर्माण गरेर पछि सरकारलाई हस्तान्तरण गरेको थियो । अहिले यी दुवै जलविद्युत केन्द्र बुटवल पावर कम्पनीको स्वामित्त्वमा छन् ।

झिम्रुक प्युठान र रोल्पा जिल्लामा विद्युतीकरण गर्ने उद्देश्यले निर्माण गरिएको थियो भने आँधीखोला स्याङ्जामा विद्युतीकरण गर्ने उद्देश्यले निर्माण गरिएको थियो । बिपिसीले यी दुवै जलविद्युतगृहले उत्पादन गर्ने विद्युत आफैँँ स्थानीय क्षेत्रमा वितरण गर्छ । स्थानीय क्षेत्रमा खपत हुन नसकेको विद्युत मात्रै विद्युत प्राधिकरणले खरिद गर्छ ।

नर्वेको प्रत्यक्ष लगानीमा रामेछापमा निर्माण भएको ६० मेगावाटको खिम्ती–१ जलविद्युत आयोजना निर्माणमा पनि उनको ठूलो योगदान छ । उनले नेपालको जलविद्युत उत्पादनमा निजी क्षेत्रको लगानी सम्भावनाबारे २०४६ अघिबाट नै भन्दै आएका थिए । र, सधैँ जलविद्युतमा निजी क्षेत्रलाई लगानीका लागि बाटो खुलाउने पर्ने भन्दै निजी लगानी प्रवर्द्धन गर्ने गर्दथे ।

होप्टुनले नेपालको जलविद्युत विकासमा निजी क्षेत्रलाई सधै प्रवर्द्धन गरेको हाइड्रो कन्सल्ट इन्जिनियरिङ कम्पनीका  प्रमुख कार्यकारी अधिकृत मनोहर श्रेष्ठले बताए । ‘उहाँ निकै साधारण जीवन शैली भएको मेहेनती व्यक्ति हुनुहुन्थ्यो,’ उनले भने, ‘नेपालको जलविद्युत क्षेत्र अहिलेको अवस्थामा आइपुग्नमा उहाँको भूमिका अविस्मरणीय छ ।’

नर्वेजियन लगानीमा खिम्ती–१ पनि होप्टुनकै सक्रियतामा निर्माण गर्न सम्भव भएको श्रेष्ठले स्मरण गरे । बिपिसीको सहायक हाइड्रो कन्सल्र्ट इन्जिनियरिङ कम्पनी स्थापना हुनुमा पनि होप्टुनकै दुरदर्शिताका कारण सम्भव भएको पनि उनले बताए ।

होप्टुनले नेपालको जलविद्युत विकासका लागि फलको आशा नराखी निरन्तररूपमा मेहेनत गरेमा लक्ष्यमा पुग्न सकिने बताउने गरेका श्रेष्ठले स्मरण गरे ।  नेपालको जलविद्युत विकासमा योगदान पुर्याएको कदर स्वरुप उनलाई राजाको प्रत्यक्ष शासन कालमा गोरखा दक्षिणबाहुबाट सम्मान समेत गरिएको थियो । उनलाई सन् १९९० मा नर्वे सरकारले नर्वेजियन अर्डर अफ मेरिटको फस्र्ट क्लास नाइटबाट पनि सम्मान गरिएको थियो । उनी नेपालमा ३८ वर्ष बसेर सन् १९९६ मा नर्वे फर्किएका थिए ।


Read Previous

सम्झौताको ४५ महिनामा पनि सुरु भएन दाङखोलामा पुल निर्माण,ठेकेदार भन्छः ४ वर्षअघिको दररेटमा काम गर्न सकिँदैन

Read Next

लगानी बोर्डका परियोजनाका विकासकर्तासँग प्रधानमन्त्रीको भेट

Leave a Reply

Your email address will not be published.