Nepal Purbadhar

विद्यार्थी कृषि करेसारबारी कार्यक्रम लागू गर्दै विद्यालय


कैलाली । कैलालीको जानकी गाउँपालिकाले विद्यालयमा ‘विद्यार्थी कृषि करेसारबारी’ कार्यक्रम सुरु गरेको छ। कृषि क्षेत्रको विकास तथा कृषि क्षेत्रमा अध्ययनका लागि विद्यार्थीलाई उत्प्रेरणा जगाउन आजदेखि ‘विद्यार्थी कृषि करेसारबारी’ कार्यक्रम सुरु गरिएको हो।

ग्रामीण क्षेत्रका विद्यार्थीका अभिभावकले कृषि क्षेत्रमा भएका नवीनतम कृषिसम्बन्धी ज्ञानको अभावमा खेती गरिरहेका छन् । विद्यालयबाट कृषिसम्बन्धी ज्ञान दिन सके विद्यार्थीमा कृषि विषय अध्ययन गर्न उत्प्रेरणा जगाउने तथा कृषिमा भएका नवीनता प्रविधिसम्बन्धी ज्ञान दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले बताए।

‘हाम्रो पालिकाका अधिकांश किसान कृषिमा निर्भर छन्, उनीहरूका छोराछोरीलाई कृषिसम्बन्धी ज्ञान दिने उद्देश्य हामीले लिएका छौँ,’ चौधरीले भने, ‘बालबालिका उच्च शिक्षा पढेर बेरोजगार भइरहेको अवस्था छ । कृषि पढेमा आफ्नै बारी भएकाले कृषिमा राम्रो आम्दानी गर्न सक्छन् ।’

गाउँपालिकाले यस वर्ष जयपार्वती आधारभूत विद्यालय परागीपुर, जनता माध्यमिक विद्यालय अमरावती र अरुणोदय माध्यमिक विद्यालय खैरीफाँटामा विद्यार्थी कृषि करेसारबारी कार्यक्रम सञ्चालन गर्दैछ। उक्त कार्यक्रमअन्र्तगत विद्यार्थीलाई कुनै एक बालीका बारेमा सैद्धान्तिक ज्ञान दिनुका साथै उनीहरूको प्रत्यक्ष सहभागितामा बाली बिरुवामा देखिने विभिन्न समस्या पहिचान गराई र समाधानका उपायका बारेमा सिकाइन्छ।

उक्त कार्यक्रम लागू भएका विद्यायलमा कृषि प्राविधिक शिक्षक तथा अन्य सहयोगको व्यवस्था गाउँपालिकाले गरेको छ । सातामा एक दिन कृषिबारे सैद्धान्तिक पढाइ हुने र अन्य दिनमा व्यावहारिक तथा प्रयोगात्मक कार्य गरिने छ। ‘विद्यार्थी कृषि करेसाबारी’ कार्यक्रममा प्राथमिक तहदेखि माध्यमिक तहसम्मका विद्यार्थीको सहभागिता हुने कार्यक्रम लागू भएका विद्यालयले जनाएका छन्।

यस कार्यक्रमलाई अभिभावकले सकारात्मकरूपमा लिएका छन् । जानकी गाउँपालिकाका कृष्ण धामीले छोरीलाई कृषि प्राविधिक पढाउने तयारी गरिरहेका छन् । ‘पालिकाले विद्यालयमै कृषि पढाउने भएछ, राम्रो सुरुआत हो । यो कार्यक्रम सबै विद्यालयमा लागू हुनुपर्छ,’ धामीले भने, ‘यसले कृषियोग्य जमिन संरक्षण हुनुका साथै पढेलेखेका युवालाई कृषिमा रुचि जगाउँछ।’


Read Previous

थप ८ स्थानमा औद्योगिक ग्राम घोषणा गरिने

Read Next

ब्रोकरले अनुमति पाएको ३ महिनाभित्र शाखा कार्यालय खोल्नुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar