Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने

पर्यटकीय ‘हब’ बन्दै गाजाको दह


ढोरपाटन । अग्लो पहाड। पहाडको बीचमा दह, मन्दिर र घरहरू। शान्त वातावरण र स्वच्छ हावापानी। यो गाजाको दहको पहिचान हो। हिउँदमा हिउँ खेल्नेहरूको र बर्खामा गर्मी छल्न आउनेहरूको यहाँ भीड नै लाग्ने गर्छ। बाह्रै महिना आन्तरिक पर्यटकले भरिने गाजाको दह प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। जिल्लाको जैमिनी नगरपालिका–३ दमेकमा पर्ने गाजाको दह निकै चर्चित भए पनि अझै आझेलमा छ।

प्रकृतिले सजिएको गाजा जैमिनी, बागलुङ र गलकोट नगरपालिका तथा बरेङ गाउँपालिकाको संगमस्थल हो। दुई हजार चार सय ८० मिटर उचाइमा रहेको गाजाको दहमा पुग्ने जो कोही पनि मोहित हुने गर्छन्। जिल्ला सदरमुकाम बागलुङ बजारदेखि २४ किलोमिटर टाढा रहेको गाजाको दहमा चार घण्टाको पैदल र डेढ घण्टाको गाडीको यात्रामा पुग्न सकिन्छ। प्रत्येक याममा यहाँको सुन्दरता फरक–फरक देख्न सकिन्छ। गाडीमा भन्दा बढी पैदल यात्रा गर्दा घुमफिर रोमाञ्चक बन्छ।

वन, पाखा, खोला, झरना, गाउँले जीवनशैली र दर्जनौँ हिमशृङ्खलाले मनै लोभ्याउँछ। बागलुङ नगरपालिका–८ सिगाना, बौँडेचौर, रेशको चापखर्क हुँदै यहाँ पुग्दा घनाजंगल पर्दछ। अझ यहाँ रहेको दहले धेरैलाई आकर्षित गर्छ। दह वरपरका परम्परागत घर अहिले पनि देख्न सकिन्छ। गाजा दह क्षेत्रको प्रचारप्रसार र पूर्वाधार निर्माणमा चासो नदिँदा ओझेलमा पर्न थालेको स्थानीय गोपाल छन्त्यालले बताए।

दहसँगै यहाँ बराह थान पनि रहेको छ । यहाँ पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने थापा छन्त्याल बताउँछन् । खास गरी यहाँ हरेक वर्ष वैकुण्ठ चतुर्दशीमा मेला लाग्ने र मेलामा देशभरबाट पर्यटक आउने गरेको उनको भनाइ छ। उनले यहाँ पर्यटक आकर्षित गर्ने संरचना बन्न नसकेकाले पर्यटक बढाउन नसकेको बताए। ‘अहिले जति पनि पर्यटक आउँछन्, उनीहरु पुरानै प्रचारका कारणले आएका हुन्, पछिल्लो समय गाजाको दहको प्रचारप्रसारमा कमी छ, यति महत्वपूर्ण र रमणीय ठाउँ छन्, पर्यटक बढाउन सकिएको छैन,’ छन्त्यालले भने, ‘प्रचार कम छ, यहाँ नयाँ संरचना पनि खासै बनेका छैनन्, प्रचारप्रसारलाई व्यापक बनाउने र यहाँ पूर्वाधार निर्माण गर्न सक्ने हो भने वर्षमा लाखौँ पर्यटक भित्र्याउन सकिन्छ।’

पहिलेको तुलनामा केही परिवर्तन आएपछि गाजा दहमा पर्यटकीय आकर्षण बढेको उनको भनाइ छ। विद्यार्थी, कर्मचारी तथा जनप्रतिनिधि पनि समय–समयमा अवलोकन भ्रमणका लागि आउने गरेको उनी बताउँछन्। पछिल्लो समय खाना र बस्नको राम्रो व्यवस्था भएपछि रातमा पनि घुम्न आउनेको सङ्ख्या बढेको छन्त्याल बताउँछन् ।

सडकको पहुँच पुगे पनि निकै जोखिमपूर्ण छ। जोखिमपूर्ण यात्रा गर्न धेरैले रुचाउँदैनन्। गुल्मीको शान्तिपुरबाट घुम्न आएका प्रवेश क्षेत्रीले सडकको स्तरोन्नति गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने बताए। ठाउँ निकै रमणीय भए पनि यसको प्रचारप्रसार र भौतिक संरचना बनाउन सके बाह्य पयर्कटलाई समेत आकर्षित गर्न सकिने उनको भनाइ थियो ।

क्षेत्री भन्छन्, ‘फोटो र भिडियोमा निकै सुन्दर देखिन्छ गाजाको दह, म पनि भिडियोमा देखेर घुम्न आएको हुँ । ठाउँ त धेरै रमाइलो रहेछ । तर बाटो निकै अप्ठ्यारो रैछ, बाटोमा जोखिम मोल्दै आए पनि यहाँ आएर देखिने दृश्यले त्यो दुःख र समस्या भुलाइदिँदो रैछ । तर यहाँको विकास गर्न धेरै बाँकी रैछ, सडक मात्रै पनि राम्रो भयो भने यहाँ आउन सहज हुने थियो ।’

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाजाको दहको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण योजना बनाएर लागेको बताए। उनले यो ठाउँ ऐतिहासिक भएको भन्दै यहाँका संरचना तथा दहको संरक्षणका लागि विगतदेखि नै काम गर्दै आएको बताए। यहाँको दहमा बाह्रै महिना पानी हुने र यहाँ देखिने छायाँले धेरैलाई आकर्षित गर्ने गरेको उपप्रमुख शर्माको भनाइ छ।

उपप्रमुख शर्मा भन्छन्, ‘यो ठाउँ धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ, हरेक वर्ष टाढा–टाढाबाट यहाँ भक्तजन पूजाआजा गर्न आउँछन्, यस्तो महत्वपूर्ण क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि नगरपालिकाले निरन्तर बजेट विनियोजन गरेर काम गर्दै आएको छ, अहिलेसम्म केही आधार तयार भएको छ । यसको थप विकासका लागि गुरुयोजना बनाएर पूर्वाधार निर्माण गर्ने चरणमा छौँ ।’

अहिलेसम्म यहाँ खानेपानी, मन्दिर व्यवस्थापन, शौचालय तथा सडक निर्माणको काम गरिसकेको र अन्य संरचना निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्ने उपप्रमुख शर्मा बताउँछन्। यस वर्ष थप संरचना निर्माणका लागि नगरपालिकाले पाँच लाख रुपैयाँ विनियोजन गरेको शर्माले जानकारी दिए। यस क्षेत्रलाई पर्यटकीय हब बनाउनका लागि निजी कम्पनीसँग सहकार्य गर्ने उनको भनाइ छ। रासस


Read Previous

बागलुङ-पोखरा सडक दैनिक ८ घण्टा बन्द हुने

Read Next

नवलपुर–पोखरा सडकको भौतिक प्रगति ८ प्रतिशत

Leave a Reply

Your email address will not be published.