Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

पोखरा रंगशालामा छैन ‘फ्लड लाइट’


पोखरा । अन्तर्राष्ट्रियस्तरको पोखरा रंगशालामा ‘फ्लड लाइट’ छैन । ठूलो धनराशि खर्चेर बनाइएको रंगशालामा बत्ती जडानको योजना भने अलपत्र परेको छ । ‘फ्लड लाइट’ नहुँदा रात्रिकालीन खेलकुद सञ्चालन गर्न सक्ने स्थिति छैन ।

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को मान्यता पाउन पनि रङ्गशालामा ‘फ्लड लाइट’ अनिवार्य हुनुपर्छ । सोह्र हजार पाँच सय दर्शक क्षमताको स्तरीय रङगशाला भइकन पनि बत्ती जडान नहुनुलाई खेल क्षेत्रका पदाधिकारीले दुर्भाग्यका रूपमा लिएका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बजेट अभावमा बत्ती जडान हुन नसकेको बताए। ‘सङ्घ, प्रदेश सरकार कतैबाट बजेट परेको छैन, बत्ती जडानको योजना अन्योलमा छ,’ उनले भने, ‘फ्लड लाइटका लागि करिब १२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।’

राष्ट्रिय खेलकुद परिषद्ले दुई वर्षअघि ‘फ्लड लाइट’का लागि छुट्याएको पाँच करोड रुपैयाँ बजेट कोभिड–१९ महाव्याधिका कारण काम हुन नसकी फिर्ता भएको थियो । कार्यालय प्रमुख योगीले देशकै ठूलो र सुविधायुक्त रंगशालाको सञ्चालन तथा व्यवस्थापनमा सङ्घ र प्रदेश सरकारले हातेमालो गर्नुपर्ने उल्लेख गरे।

‘सङ्घ र प्रदेश दुवैतिर ‘फ्लड लाइट’का लागि बजेट माग गरिरहेका छौँ, स्रोतको सुनिश्चिता हुनासाथ रंगशालामा बत्ती जडानको काम अघि बढ्छ,’ उनले भने, ‘रंगशालाको विकास त प्रदेश सरकारको पनि दायित्वभित्र पर्छ, प्रदेशबाट पनि आवश्यक पहल हुनेमा हामी विश्वस्त छौँ ।’ प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले अन्तर्राष्ट्रियस्तरको भएर पनि ‘फ्लड लाइट’ नहुँदा पोखरा रंगशालाको उपयोगिता खुम्चिन सक्ने धारणा राखे ।

‘साउथ एसियन टिम आउने खालका प्रतियोगिता पोखरा रंगशालामा खेलाउन सक्नुपर्छ, त्यसका लागि फ्लड लाइटलगायत अन्तर्राष्ट्रिय मापदण्डका पूर्वाधार चाहिन्छ,’ उनले भने, ‘ठूलो लगानी परेको रंगशालाबाट राज्यले पनि लाभ लिनुपर्यो, खेल गतिविधि बढ्दा यहाँको आर्थिक गतिविधि पनि चलायमन हुन्छ ।’

सदस्यसचिव गुरुङले खेल क्षेत्रमा अझै सङ्घीयता आउन नसक्नुको मार पोखरा रंगशालाले पनि खेपिरहेको बताए। सङ्घ सरकार मातहत रहेको रंगशाला व्यवस्थापन र सञ्चालनमासमेत प्रदेशसँग सहकार्य हुन नसकेको उनले बताए।

‘रंगशालाको व्यवस्थापन र प्रयोगमा केन्द्र सरकार उदार हुनसकेको छैन, त्यसले गर्दा प्रदेश सरकारलाई पनि हामीले किन लगानी गर्ने ? भन्ने भान परिरहेको छ,’ सदस्यसचिव गुरुङले भने, ‘अब त्यसरी नसोची सबै मिलेर रंगशालाको विकासमा काम गर्नुपर्छ ।’ साँझ र रात्रिपख प्रतियोगिता राख्न सकिएमा जागिरे र कामकाजी मानिसले समेत खेलबाट फाइदा लिन सक्ने उनको भनाइ छ।

प्रतियोगितामात्रै नभएर रात्रिकालीन खेलाभ्यासका लागि पनि रंगशालामा ‘फ्लड लाइट’ अत्यावश्यक रहेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बरालले बताए। पटक–पटक यो विषय उठ्ने गरे पनि राज्यका खेलसम्बद्ध निकायले बेवास्ता गर्ने गरेको उनको भनाइ छ।

‘सवा अर्बभन्दा बढीको लागतमा बनेको अन्तर्राष्ट्रिय मापदण्डको रंगशालामा फ्लड लाइट नहुनु दुर्भाग्य हो,’ अध्यक्ष बरालले भने, ‘दुई वर्षअघि नै बत्ती जडानका लागि काम थाल्ने भनिए पनि त्यसले अझै सार्थकता पाउन सकेको छैन ।’ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअघि नै बत्ती जडान गर्ने राखेपको प्रतिबद्धता पनि पूरा हुन सकेन।

गत असोजमा गण्डकी प्रदेशमा भएको उक्त प्रतियोगिताअन्तर्गत फुटबललगायत मुख्य खेल पोखरा रंगशालामा भएका थिए । एक अर्ब २८ करोड रुपैयाँको लगानीमा तीन वर्षअघि रंगशाला निर्माण गरिएको थियो।

हाल १६ हजार पाँच सय दर्शक क्षमता रहेकामा त्यसलाई बढाएर २० हजार पुर्याउने सरकारको योजना छ । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा ! रारा पोखरा गोल्डकपलगायत प्रतियोगिता पोखरा रंगशालामै हुँदै आएका छन्।


Read Previous

भूमिगत पानीको सतह घट्दै

Read Next

मनाङमा १३५ मेगावाटको जलविद्युत् आयोजनाको निर्माण सुरु

Leave a Reply

Your email address will not be published.