भरतपुर । कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका–१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उनले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाएकी छैनन्।
“फोन सम्पर्क नहुँदा मन आत्तिन्छ”, उनले भनिन्”, “यहाँ आएको एक वर्ष भयो नेटवर्कको समस्या उस्तै छ ।” भाराङ आसपासका एक दर्जन गाउँमा मोबाइलको नेटवर्क नहुँदा स्थानीय फोन सेवाबाट बन्चित भएका छन् । कोलभञ्ज्याङकी लालमाया चेपाङ मोबाइलको नेटवर्क नहुँदा विदेशमा भएको श्रीमानसँग सहजरूपमा कुरा गर्न नपाएको बताउँछन् ।
“सबै कुराले पछाडि परेका हामी मोबाइल नेटवर्कले झन् पछाडि पारेको छ, गाउँमा गाडी आइपुग्दा पनि घरबाटै मोबाइलमा कुरा गर्न पाइएको छैन”, उनले भने । इच्छाकामना गाउँपालिका–१ को चौकीडाँडा, बङ्घ्याङ, जैथली, विङलाङ, कोलभञ्ज्याङ, थाप्राङ, राजभोग, ज्यान्दला, जौतेस, कालिन र तिपाङमा मोबाइलको नेटवर्क टिप्दैन ।
यस्तै, हात्तीबाङको पनि केही क्षेत्रमा नेटवर्कको समस्या रहेको वडाध्यक्ष सन्तबहादुर मगरले बताए । “मेरो वडाका एक दर्जन गाउँमा फोन सेवा छैन, उनले भने”, “भएको ठाँउमा पनि नेटर्वक समस्याले राम्रोसँग कुरा गर्न पाइँदैन ।”
उनले वडाको झण्डै ३ हजार जनसङ्ख्या सञ्चार सेवा फोनबाट वञ्चित रहेको बताए । याे वडामा अधिकांश चेपाङ समुदायको बसोबास छ । नेटवर्कको समस्या सामाधान गरिदिन नेपाल टेलिकम र एनसेललाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उनकाे गुनासाे छ । “यसै त भौगोलिकरुपमा पछि परेको ठाँउ हो हाम्रो, वडाध्यक्ष मगरले भने”, “विकास र प्रविधिको जमानमा पनि हामी फोन गर्न पाउँदैनौं।”
इच्छाकामना–१ चौकीडाँडाकी सरस्वती रायमाझीले फोन गर्न आफ्नो गाँउबाट कालिका नगरपालिकातर्फ फर्कनुपर्ने बताए । उनले नेटवर्क कमजोर हुँदा फोन पटक–पटक काटिने गरेको गुनासो गरे । उनले नेट इन्टरनेट त टाढाको कुरा भएको भन्दै सहज रुपमा फोन गर्न पाए पनि खुसी हुने बताए । “अकस्मात केही भइहाल्यो भने सूचना पाउन र पुर्याउन पाइँदैन,” उनले भने”, “लामो समयसम्म आफन्तसँग सम्पर्क विच्छेद हुने गरेको छ ।”
आधारभूत विद्यालय भाराङका प्राचार्य दीपबहादुर गुरुङले गाउँमा मोबाइलको नेटवर्क नहुँदा धेरै दुःख पाएको बताए । उनले भने, “मोबाइलको टावर जडानका लागि पटक–पटक आश्वासन दिइयो तर कार्यान्वयन गरिएन ।” उनले गाँउबाट ४ सय बढीको हस्ताक्षर सङ्कलन गरेरसमेत टेलिकममा बुझाइएको बताए।
नेटवर्कको समस्याका कारण विद्यालयमा वाइफाइ जडान गर्न सकिएको छैन । “गाउँपालिकाले वाइफाइ जडानका लागि दिएको रकमसमेत फिर्ता गर्नुपर्यो”, उनले बताए ।
दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले इच्छाकामना गाँउपालिका–१ मा भएको नेटवर्कको समस्याबारे केन्द्रीय कार्यालयमा जानकारी गराइसकेको बताए । उनले कार्यालयले पनि नेटवर्क नभएको ठाँउमा सर्वेका लागि कर्मचारी पठाउने भन्दै त्यस ठाँउलाई प्राथमिकता राखेर काम गरिने जानकारी दिए । उनले अहिले भएका टावरबाट नेटवर्क मिलाउन सक्ने जति मिलाइने र बाँकी टावर निर्माण गरेर समस्या समाधान गरिने बताए ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाको वडा नम्बर १, २ र ७ नम्बर वडाका विभिन्न क्षेत्रमा मोबाइल नेटवर्कको समस्या रहेको बताए । उनले वडा नम्बर २ को हुस्ती, माझखर्क, होरल्याङमा र तल्लो काउलेमा नेटवर्कको समस्या रहेको जानकारी दिए ।
यस्तै, वडा नम्वर ७ को गर्दास, सुन्दरबस्ती पनि राम्रोसँग नेटवर्क नटिप्ने समस्या रहेको बताए । पालिकाभित्र रहेको नेटवर्कको समस्या समाधानका लागि दूरसञ्चार कार्यालय र एनसेललाई जानकारी गराएको भन्दै उनले नेटवर्कको समस्या छिट्टै समाधान गरिने बताए ।