Nepal Purbadhar

शुक्रबार, माघ २०, २०७९
Friday, February 3, 2023

शुक्रबार, माघ २०, २०७९
Friday, February 3, 2023

मानव विकास सुचकांकमा झिनो सुधार, असमानतामा वृद्धि


काठमाडौ । कोभिड–१९ महामारीले निम्त्याएको निरन्तरको उथलपुथलका बावजुद नेपालले मानव विकास सुचकांकमा झिनो सुधार गरेको छ तर  असमानताको सुचकांक भने केही खस्किएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)ले सोमबार सार्वजनिक गरेकोे “अनिश्चित समय, अस्थिर जीवनः परिवर्तित विश्वमा हाम्रो भविष्य” मा केन्द्रित नयाँ मानव विकास प्रतिवेदन २०२१/२०२२ ले यस्तो देखाएको हो ।

प्रतिवेदन अनुसार, सन् २०२० भन्दा एक स्थान माथि उक्लिदै १४३औं स्थानमा पुग्न सफल भएपनि र लैङ्गिक असमानताको सूचकांकहरुमा भने केही तल झरेको छ । नेपाल मानव विकास सूचकाकंमा सन् २०२०मा १४४ औं स्थानमा थियो ।

कोभिड–१९ र युक्रेनमा भइरहेको युद्ध जस्तासंकटहरूबाट प्रगति अवरुद्ध हुँदा विश्वका हरेक १० मध्ये ९ देश मानव विकासमा पछि पर्न गएको उक्त प्रतिवेदनले नेपाल सन् २०२१ मा ०.६०२ को मानव विकास सूचकांक मानका साथ १४३औं स्थानमा रहेको देखाउँछ, र यो मान सन् २०२०को मान (०.६०४) भन्दा कम हो ।

दुई बर्षको अन्तरालपछि सार्वजनिक गरिएको सन् २०२२ को प्रतिवेदनले नेपाललाई मध्यम मानव विकास समूहमा वर्गीकरण गरेको छ । दीर्घ र स्वस्थ जीवन, ज्ञानमा पहुँच र राम्रो जीवनस्तर गरी तीन वटा आधारभूत आयामहरुको आधारमा विश्लेषण गरिएको छ ।

प्रतिवेदन अनुसार, सन् १९९० र २०२१ बीच नेपालको मानव विकास सूचकांकको मान ०.३९९ बाट ०.६०२ मा परिवर्तन भएको छ, जुन परिवर्तन ५०.९ प्रतिशत हो । सन् १९९० र २०२१ बीच नेपालको जन्ममा सरदर आयु १३.६ प्रतशतले, विद्यालय जाने औसत बर्ष २.८ बर्षले र विद्यालय जाने अपेक्षित बर्ष २.८ बर्षले परिवर्तन भएको उल्लेख गर्दै प्रतिवेदनले सन् १९९० र २०२१ बीच नेपालको प्रति व्यक्ति कुल राष्ट्रिय आय करिव १४० प्रतिशतले परिवर्तन भएको उल्लेख छ ।

लैङ्गिक असमानताको सुचकांक कमजोर

लैङ्गिक दृष्टिकोणबाट हेर्दा नेपाल विश्वव्यापी लैङ्गिक असमानता सूचकांकमा सन् २०१९ को ११०औं स्थान तल झरेर ११३औं स्थानमा पुगेको देखिन्छ । यसमा लैङ्गिक असमानता सूचकांकले प्रजनन् स्वास्थ्य, सशक्तीकरण र श्रम बजार गरी तीन वटा प्रमुख आयामहरुमा विद्यमान लैङ्गिक असमानताहरु मापन गरिएको छ ।

प्रतिवेदनले व्याप्त असमानताहरुका कारण नेपालले मानव विकासमा उल्ल्ेखनीय क्षति व्यहोरिरहेको देखाएको छ । लैङ्गिक, जातिगत, भौगोलिक र अन्य क्षेत्रमा विद्यमान असमानताका कारण नेपाललाई मानव विकासमा २५ % भन्दा बढी क्षति पुग्न गएको छ । सन् २०२१ मा पुरुषहरुको ०.६२१ को तुलनामा महिलाहरुको मानव विकास सूचकांक ०.५८४ रहेको छ, जसका कारण लैङ्गिक विकास सूचकांकको मान ०.९४२ हुनपुग्दा देश समूह ३ मा परेको छ, जसमा महिला र पुरुषबीच मानव विकास सूचकांक प्राप्तिमा मध्यम समानता भएका देशहरु समावेश छन् ।

असमानता हटाउन नवीनता, सुरक्षण र लगानी

प्रतिवेदन सार्वजनिक कार्यक्रममा कोभिड र अन्य अस्थिरताको कारणले असमानता बढ्दै गएको बताउँदै सरोकारवाला निकाय र विज्ञहरुले यो हटाउन थ्री आई अर्थात इनोभेसन, इन्सोरेन्स र इन्भेष्टमेण्ट (नवीनता, सुरक्षण र लगानी) वृद्धिमा जोड दिए ।

कोभिड लगायतका अन्य राजनीतिक विपदहरुले असुरक्षितपन बढाएको उल्लेख गर्दै उनीहरुले मानव विकासका लागि सामाजिक र आर्थिक विकासमा जोड दिए । कार्यपत्र प्रश्तुत गर्दै युएनडीपीका एशिया र प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार एवं राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले मानव प्रतिवेदनले दक्षिण एशियामा नेपाल पाकिस्तान र अफगानिस्तानभन्दा राम्रो अवस्था रहेपनि अन्य देशको तुलनामा कमजो ररहेको बताए । जलवायु परिवर्तन, राजनीतिक धु्रवीकरण लगायतका कारण अनिश्चिताको अवस्था बढ्दै उल्लेख गर्दै उनले यसको समाधानका लागि नवीनता, सुरक्षण र लगानी अर्थात थ्री आईको अवधारणाा अघि सारेको बताए ।

प्रतिवेदन सार्वजनिक गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारले मानव विकासका लागि शिक्षा र स्वास्थ्यमा जोड दिएको बताउँदै उद्योग, यातायात र सिञ्चाईमा विद्युत खपत वृद्धिका लागि सरकारले प्रयास अघि बढाएको बताइन । कृषि,पर्यटन र ऊर्जा क्षेत्रमा सरकारले प्राथमिकता दिईरहेको उनको भनाई छ । ‘हालको रेटिङले नेपाल मानव विकास सूचकाङ्क र वरीयतामा अगाडि बढिरहेको देखाउँछ, तर हामीले अझै अगाडि बढ्नको लागि कडा मेहनत गर्नुपर्छ, उनले भनिन् । नेपाल निर्माण गर्न शिक्षा, स्वास्थ्य, नवीकरणीय ऊर्जा, कृषि जस्ता क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिदै आएको उनको भनाई छ ।
पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले संविधानले मानव सुचकांकको विकासका लागि जोड दिएको बताउँदै असमानताको अवस्था हटाउनका लागि मानव विकास र स्रोत परिचालनलाई विशेष केन्द्रित गर्नुपर्ने बताए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशील भट्टले बोर्डले परियोजना र योजना निर्माणमा जोड दिएको उल्लेख गर्दै पूर्वाधारमा ठूलो लगानीको न्यूनता देखिएकोले यसका लागि विदेशी लगानीकर्ता भित्र्याउने गरी विभिन्न प्रबन्धहरु गरेको बताए ।

नेपालका लागि युएनडीपीकी आवासीय प्रतिनिधि आइसानी मेदागनगोदा लाबे प्रतिवेदनले नेपाल जस्ता विकासोन्मूख राष्ट्रहरुको वर्तमान वास्तविकताहरुसँग मेल खाने सामयिक समाधानहरु सिफारिस गरेको र अनिश्चित विश्वको उथलपुथलका लागि पूर्वतयारी गर्न लगानी, सुरक्षण र नवप्रर्वतन्मा केन्द्रित नीतिहरु लागु गर्नुपर्ने बताइन ।

मानव सुचकांक प्रतिवेदनमा दक्षिण एशियाका देशहरु

देश श्रेणी
नेपाल १४३
बंगलादेश १२९
भुटान १२७
भारत १३२
माल्दिभ्स ९०
पाकिस्तान १६१
श्रीलंका ७३

स्रोतः युएनडीपी


Read Previous

असोज ६ गतेदेखि ‘नाडा इभि एक्स्पो २०२२’ हुने

Read Next

यस्ता छन कुर्था-जयनगर रेल सञ्चालनका मुख्य ६ समस्या

Leave a Reply

Your email address will not be published.