Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   


पर्वत । फलेवास नगरपालिका–२ थापाठानाका ६ सय घरपरिवारलाई विद्युतीय चुल्हो (इन्डक्सन) वितरण गरिएको छ । प्रदूषणरहित भान्छा र धुवाँरहित गाउँघरको विकासका लागि रोटरी क्लब अफ पोखरा फिस्टेलको सहयोगमा वडाका सबै घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएको हो ।

थापाठानामा ७ सय घरधुरी रहेका छन् । तीमध्ये झन्डै एक सय घरधुरी बसाइँसराइलगायत कारणले खाली भएकाे हुँदा नागरिककाे बसाेबास रहेका सबै ६ सय घरलाई विद्युतीय चुल्हाे वितरण गरिएकाे हाे

मानिसको नियमित बसोबास रहेका सबै घरपरिवारलाई एक/एक थान इन्डक्सन चुल्हो वितरण गरिएको फलेवास–२ थापाठानाका वडाध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए । ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको आयोजनामा भएको एक कार्यक्रमबीच रोटरी क्लब अफ पोखरा फिस्टेललगायत संस्थाको सहयोगमा विद्युतीय चुल्हो वितरण गरिएको हो ।

सबै घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएसँगै वडा नं २ लाई प्रदूषण मुक्त भान्छासहितको वडा घोषणासमेत गरिएको छ । सामाजिक सेवामा सक्रिय रोटरी क्लबले विविध शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्ने सिलसिलामा थापाठाना गाउँमा विद्युतीय चुल्हो वितरण गरेको रोटरी क्लब अफ पोखरा फिस्टेलका डिष्ट्रिक गभर्नर नोमिनी विनोद कोइरालाले जानकारी दिए ।

उनले विभिन्न ५ चरणमा विद्युतीय चुल्हो वितरण गरिएको बताए । चुल्होसँगै यसमा प्रयोग गर्न मिल्ने भाँडा पनि वितरण गरिएको हो । चुल्होसहित अन्य भान्छामा प्रयोग हुने सामग्री प्रतिपरिवारलाई १० हजार रुपैयाँ बराबर वितरण गरिएको कोइरालाले बताउनुभयो । झन्डै ६० लाख रुपैयाँ मूल्य बराबरको लागतमा चुल्होसहितका सामग्री वितरण गरिएको हो ।

यो वडामा रहेका सात सय घरपरिवारमध्ये त्यहाँ निरन्तर बसोबास गर्ने छ सयजनालाई प्राथमिकतामा पारेर चुल्हो वितरण गरिएको उनकाे  भनाइ छ । यो चुल्होको प्रयोगले गृहिणीहरुको स्वास्थ्य अवस्थामा सुधार आउनाका साथै गाउँ पनि पूर्ण रुपमा स्वच्छ हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी, बढ्दो वन विनाश रोकिनाका साथै विद्युत्को खपतसमेत बढ्ने भएको छ । चुल्हो वितरण कार्यक्रमसँगै वडा नं २ लाई प्रदूषणमुक्त घोषणा गर्दै नगरप्रमुख गङ्गाधर तिवारीले वडालाई प्रदूषणमुक्त वडा घोषणा गर्न सहयोग गरेकामा रोटरी क्लब अफ पोखरा फिस्टेललगायत दाताहरुको प्रशंसा गरे । उनले चुल्हो वितरण भएपछि अब गाउँ प्रदूषणमुक्त हुने र खासगरी भान्छाको काम गर्ने महिलाको स्वास्थ्य राम्रो हुँदै जाने विश्वास व्यक्त गरे । आफूले पाएको चुल्होलाई भरपुर रुपमा प्रयोग गर्न उनकाे आग्रह छ ।

ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष रामहरि श्रेष्ठले प्रदूषणमुक्त समाजको स्थापना गर्नका लागि रोटरी क्लबले थालेको अभियानमा सहयोग गर्न आग्रह गरे । उनले  विद्युतीय चुल्होको भरपुर उपभोग गर्नसमेत आग्रह गरे ।

प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल डहरेदेउरालीको काखमा रहेको थापाठानामा सञ्चालित घरबास सेवा प्रभावकारी बन्दै गएको छ । स्वच्छ र हराभरा वातावरणले घरबासमा आउने पाहुनाको आकर्षण पनि बढ्ने भएकाले विद्युतीय चुल्होले थप टेवा पुग्ने नगर उपप्रमुख शोभाकुमारी क्षेत्रीले बताइन् ।


Read Previous

उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत   

Read Next

तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

Leave a Reply

Your email address will not be published.