Nepal Purbadhar

शनिबार, असार ८, २०८१
Saturday, June 22, 2024

शनिबार, असार ८, २०८१
Saturday, June 22, 2024

नेपालकै पहिलो नविकरणीय ऊर्जा गाउँमा नौ वर्षमै ‘धिपधिप’


मिल्चे (काभ्रे) । २०७० साल पुस ५ गते काभ्रेको तत्कालीन मिल्चे गाविसलाई नेपालकै पहिलो नवीकरणीय ऊर्जा गाउँको रुपमा घोषणा गरिएको थियो ।बाजागाजापछि मिल्चेस्थित बुद्ध मावि को प्राङ्गणमा धुमधामका साथ समाजसेवी मधु आचार्य, रिमरेकका तत्कालीन अध्यक्ष डा प्रेम शर्मा, तत्कालीन जिल्ला उर्जा कार्यक्रम प्रमुख सञ्जीव कुमार लाल जिल्ला सदरमुकाम धुलिखेलबाट देखि ६० किलोमिटर टाढा रहेको विकट पुगेर सो घोषणा गरेका थिए ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा रिमरेकमार्फत चारओटा लघु जलविद्युत् आयोजनामार्फत ३ सय ८६ घरधुरी तथा सोलारमार्फत ६२ घरधुरीमा बिजुली पुर्याएपछि मिल्चे गाविस लोडसेडिङमुक्तसमेत घोषणा गरिएको थियो । नेपालमा चरम लोडसेडिङ भईरहेको बेला नवीकरणीय ऊर्जामार्फत यो गाउँलाई लोडसेडिङ घोषणा गरिएको थियो ।

यातायात सेवासमेत नपुगेको विकट मिल्चे गाविसमा मात्र कुलकुले, दुर्लुङ खोला पहिलो, दोस्रो र तेस्रो लघु जलविद्युत् आयोजना तथा सोलारमार्फत सबै घरधुरीमा बिजुली पुगेको थियो । विद्युत उत्पादनका लागि स्थानीयले ३ महिनासम्म श्रमदान गरेका थिए भने नपुग खर्चका लागि बैंकबाट ऋण पनि लिएका थिए । गाउँसम्म सडक नभएकोले सिमेन्ट बोक्ने, कुलो खन्ने, स्थानीय पोलको बन्दोवस्त गर्ने लगायतका काम स्थानीयले श्रमदान मै गरेका थिए ।

तत्कालीन प्रवर्द्धन केन्द्रको ग्रामीण विद्युतीकरण सहएकाइका राष्ट्रिय सल्लाहकार एवं हालका वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीले समेत मिल्चे नेपालकै नवीकरणीय ऊर्जामार्फत सबै घरधुरीमा बिजुली बाल्ने पहिलो नवीकरणीय ऊर्जा गाविस बनेको तथा विश्वका अधिकांश देशमा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युत् पुग्ने भएकोले यो गाविस सम्भवत विश्वकै पहिलो हुन सक्ने समेत बताएका थिए तर यही गाउँमा अहिले धिपधिपे उज्यालो मात्र देख्न पाइन्छ ।

नवीकरणीय ऊर्जायुक्त गाविस घोषणा गरेर सबै घरधुरीमा बिजुलीको उज्यालो आएको त्यो खुशीयाली नौ बर्ष पनि टिकेन । अहिले मिल्चेका सिमित घरहरुमा मात्र विजुली बल्छ । घर–घरमा निर्माण भएका सुधारिएको चूलो देख्न समेत पाइँदैन । सोलार जडान गर्नेहरुका घरमा उज्यालो सम्म देखिन्छ । किनेका टेलिभिजनहरु थन्किएका छन् । मोबाइल चार्ज गर्न पनि छिमेकी गाउँ सम्म पुग्नु पर्छ । स्थानीयबासीका अनुसार, २०७२ सालको भूकम्पका कारण विद्यूतका लागि बनाएको कुलोमा असर पर्यो । निर्माण मै नगद तथा श्रम खर्चेका स्थानीयले जेनतेन कुलो समान्य मर्मत गरेर पुनः बिजुली बालियो भने त्यस पछि पनि कहिले कुलोमा त कहिले कुहिएका पोल ढल्ने जस्ता समस्या आइरह्यो ।

न्यून मासिक शुल्क उठाएको कारण खर्च गर्ने स्रोत समेत स्थानीयसँग नभएको दुर्लुङखोला लघुजलविद्युत योजनाका अध्यक्ष नविन घिसिङ बताउँछन् । ‘१४ किलोवाट विद्युत उत्पादन भएको थियो । ८३ घरले उपयोग गरेका थियौ । मासिक ५० रुपैंया संकलन गर्दा विद्युत अपरेटरलाई दिन मात्र ठिक हुने अरु खर्च जुटाउनै सकिएन ।’–उनी भन्छन्–‘त्यस पछि पनि पावरहाउसमै चट्याङ पर्यो । अहिले त यो योजना पूर्ण रुपमा बन्द छ ।’ उनले भने ।
घिसिङका अनुसार, अहिले कुलकुले ७ किलो वाट र दुर्लुङखोला प्रथम ५ किलोवाट मात्र संचालनमा रहेको र अन्य २ दुलुङखोला दोस्रो र तेस्रो क्रमश २० र १४ किलोवाटका योजना वर्षौ देखि बन्द छन् ।

कुनै खास विषयमा भएको प्रगतिसँगै विकट गाउँहरु विभिन्न विषयमा नमूना घोषणा भए । नमुनाउर्जा गाउँ, धुँवा रहित गाउँ, पूर्ण शौचालय युक्त गाउँ आदि । कार्यक्रम घोषणा गर्नु अघि यसको टिकाउपन कतिको हुन्छ भन्ने विषयमै अध्ययन बेगर घोषणा गर्नुको परिणाम भएको खानीखोला ७ का निवर्तमान वडा अध्यक्ष क्षेत्र बहादुर घ्यावा बताउँछन । सहयोगी संस्थाहरुको सहयोगमा नमुना घोषणा गर्ने तर निरन्तरताका लागि अनुगमन नहुने र मर्मत सम्भारमा पनि सहयोग नपुग्ने अवस्थाले यस्तो अवस्था आएको उनको तर्क छ । ‘नेपालमै पहिलो गाविस भनिएको थियो, त्यो हाम्रो मात्र नभइ जिल्लाकै इज्जतको विषय थियो, यसलाई टिकाउनका लागि कसैले सहयोग गरेन ।’–उनी भन्छन् ।

हाल उक्त गाउँका सबै जसो क्षेत्रमा केन्द्रीय विद्युतको प्रशारण लाइन विस्तारका लागि पोल गाडने तथा तार टाङ्ने कार्य भइरहेको छ । बरु अहिले उनीहरु केन्द्रीय प्रशारणको विद्युत बाल्नका लागि श्रमदानमा जुटेका छन् ।


Read Previous

पुँजीगत खर्च नहुनु राष्ट्रिय अर्थतन्त्रका लागि घातकः अर्थविद

Read Next

अन्तरदेशीय पूर्वाधार उपयोगमा चुक्यो नेपाल

Leave a Reply

Your email address will not be published.