Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

९० दिनभित्र नेपाल भ्रमण दशक मनाउने घोषणा हुने, ७४ बुँदे पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना स्वीकृत


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको दीगो विकासका लागि नेपाल भ्रमण दशक मनाउने तयार अघि बढाएको छ ।

मन्त्रालयले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना स्वीकृत गरेसँगै सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने तयारी अघि बढाएको हो । मन्त्रालयका अनुसार ३ महिना (९० दिन) भित्र तयारी सक्ने र त्यसपछि सरकारले नेपाल भ्रमण दशक घोषणा गरिनेछ ।

त्यस्तै, कार्ययोजनामा ४ महिनाभित्र तयारी गरी अन्नुपूर्ण आधार शिविरमा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न पहल गर्ने उल्लेख छ ।

६ महिनाभित्र मार्गनिर्देशन र निर्देशिका तयार गरिने

नेपालका पर्यटकीय सेवा सुविधाहरको स्तरीकरण सम्बन्धी निर्देशिकाहरु ६ महिनाभित्र तयार गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ । रेष्टुरेण्ट र बारहरुको लागि खाद्य तथा पेय पदार्थ मार्गनिर्देशन, पर्यटन सवारी साधन सञ्चालन मार्गनिर्देशन, ट्रेकिङ गाइड तालिम निर्देशिका र ¥यापफ्टिङ गाइड तालिम निर्देशिका तयार गरिने उल्लेख छ ।

विदेशस्थित नेपाली नियोगका अधिकारीलाई पर्यटन क्षेत्रको सम्पर्क व्यक्ति तोक्ने

कार्ययोजनाले विदेशस्थित नेपाल नियोगहरमा कार्यरत एक जना अधिकारीलाई पर्यटन क्षेत्रको सम्पर्क व्यक्ति तोक्ने व्यवस्था उल्लेख गरेको छ । यसको लागि १ वर्षसम्म व्यवस्था गर्ने भनिएको छ । त्यस्तै, नेपालस्थित विदेशी नियोगहरसँग महिनामा एक पटक र विदेशस्थित नेपालका नियोगहरुसँग पाक्षिक रुपमा नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी छलफल गरिने कार्ययोजनामा उल्लेख छ ।

नेपाल वायुसेवा निगमका सबै प्रकारका टिकटलाई अनलाईन विक्रीमा लैजाने व्यवस्था एक महिनाभित्र मिलाउने उल्लेख गरिएको छ ।

कोभिड र लक डाउनले पर्यटन क्षेत्र प्रभावित

नेपालको पर्यटन क्षेत्र रोजगारी सिर्जना, गरिबी निवारण एवम् वैदेशिक मुद्रा आर्जनको प्रमुख श्रोतको रुपमा रहेको छ । तर, सन् २०२०/२०२१ को कोभिड–१९ महामारी र त्यसपछिको बन्दाबन्दीले पर्यटक आगमनमा भारी गिरावट हुँदा उल्लेखित क्षेत्रहरु नराम्ररी प्रभावित भएका छन् ।

सरकारले आर्थिक वर्ष (आब) २०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार सन् २०१८ को तुलनामा सन् २०१९ मा पर्यटन आगमनको कुल संख्या २.१ प्रतिशतले बढेर ११ लाख ९७ हजार १९१ पुगेको थियो । तर कोभिड–१९ महामारीको कारण अघिल्लो वर्षको तुलनामा सन् २०२० मा पर्यटक आगमन करिब ८१ प्रतिशतले घटेर २ लाख ३० हजार ८५ मा रहेको छ ।

यसैगरी सन् २०२१ मा यस्तो संख्या ३४.३ प्रतिशतले घटेर १ लाख ५० हजार ९ सय ६२ रहेको छ । यो सङ्ख्या सन् १९७७ पछिकै सबै भन्दा न्यून रहेको छ । त्यसैगरी सन् २०२१ मा विदेशी पर्यटकबाट विदेशी मुद्रा आर्जन ४६ प्रतिशतले घटेर १३ अर्व ५० करोड ११ लाख रहेको अवस्था छ ।

यस क्षेत्रमा कार्यरत व्यवसायीहरुले ठुलो आर्थिक क्षति व्यहोर्नु परेको छ भने औपचारिक र अनौपचारिक क्षेत्रका हजारौं कामदार र मजदुरले रोजगारी गुमाउनु परको छ ।

कोभिड–१९ महामारीपछि सरकारले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि अगाडि सारेका राहत तथा पुनरुत्थान प्याकेजहरु, कोभिड–१९ विरुद्धको खोप अभियान तथा निजी क्षेत्रको प्रयास लगायतका प्रयत्नहरुबाट पछिल्लो समयमा सुधारका सङ्केतहरु देखिएका छन् । सोहि अनुरुप सन् २०२२ को जुन महिनासम्म नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या २ लाख ३७ हजार ६६० रहेको छ ।

चालु आबमा १० लाख पर्यटन भित्राउने लक्ष्य

नेपाल सरकारले चालु वर्षको बजेट वक्तव्य मार्फत १० लाख पर्यटक भित्राउने लक्ष्य तय गरेको छ । यसको लागि कार्यक्रम सञ्चालन गर्ने, होटल लगायत पर्यटन क्षेत्र सम्बद्ध व्यवसायको चालु आबको वार्षिक इजाजत र नवीकरण दस्तुरमा छुट दिने, पर्यटन क्षेत्रको पुनरुत्थानको लागि प्रवाह हुने सहुलियतपूर्ण कर्जालाई निरन्तरता भनेको छ । त्यस्तै, प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जनात्मक तथा साहसिक पर्यटनको हिल स्टेशसन विकास गर्ने, छिमेकी मुलुकबाट पर्यटक वृद्धि गर्ने मेला तथा रोड शो जस्ता कार्यक्रम नेपाल पर्यटन बोर्डबाट सञ्चालन गर्ने भनिएको छ ।

सगरमाथा क्षेत्रमा पर्वतारोहण अनुसन्धान केन्द्र र शेर्पाहरुको साहसिक पहिचान झल्किने सङ्ग्रहालय स्थापना गर्ने, प्रमुख पर्यटकीय क्षेत्रहरुमा सडक, खानेपानी, शौचालय, निःशुल्क इन्टरनेट सेवा लगायतका सुविधा बिस्तार गर्ने, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउने लगायत पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका कार्यक्रमहरु अगाडि सारेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नेपालको पर्यटन क्षेत्रको विकास र सुधारको लागि सुझाव पेश गर्न विगतमा कार्यदल र समितिहरू गठन भई ती समितिहरुबाट प्रतिवेदनहरु बुझाएका थिए । त्यसैगरी कोभिड–१९ महामारीपछि पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने सम्बन्धमा मन्त्रालयबाट गठन गरिएको पर्यटन पुनरुत्थान प्राविधिक समितिले पनि नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान सम्बन्धी प्रतिवेदन पेश गरिसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहणपछि विगतमा प्राप्त सुझावहरुसमेत अध्ययन गरी नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने तत्कालिन र दीर्घकालिन कार्ययोजना तर्जुमा गरी पेश गर्न १३ असारमा गठन एक समिति गठन गरेका थिए ।

नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तर्जुमा समितिले पनि आफ्नो प्रतिवेदन पेश गरिसकेको छ । सो समितिले पेश गरेको प्रतिवेदन, २ साउनमा मन्त्रालयमा आयोजित पर्यटन क्षेत्र सम्बद्ध सङ्घ संस्थाहरुसँगको छलफल एवम् पर्यटन क्षेत्रका व्यक्तिहरुबाट प्राप्त सुझाव समेतलाई समेटेर नेपाल सरकार मन्त्रीस्तरीय निर्णयबाट नेपालको पर्यटन क्षेत्र पुनरुत्थानको कार्ययोजना स्वीकृत गरिएको हो ।


Read Previous

पर्याप्त तयारी नगरी ठूला पूर्वाधार निर्माणकाे हताराे किन ?

Read Next

विराटनगर-वथनाह मालबाहक रेल सञ्चालनमा ल्याउने तयारी

Leave a Reply

Your email address will not be published.